गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै आमाबुवामाथि हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छन्।
२३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा धनबहादुर बिक (करिब ५० वर्ष) र आमा दिलमाया बिक (४८ वर्ष)माथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए। घटनास्थलमै धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिए।गम्भीर घाइते आमा दिलमायालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङ्गका प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि खटिएको छ।
आफ्नै आमाबुवामाथि कुटपिट गर्ने छोरा भोटबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको खुलेको प्रहरीले जनाएको छ।मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



उज्यालो खबर




