×

 नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहान करिब ६:३० बजे पूर्व–पश्चिम राजमार्गमा चोरमारा बाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करका कारण स्कुटरमा सवार मध्यबिन्दु–१३ मैनाघाटका ४० वर्षीय बिरबहादुर सिंजाली गम्भीर घाइते भई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइए पनि बिहान ७:१३ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

सो स्कुटरमा सवार अमरसा बस्ने २३ वर्षीय चन्द्रबहादुर गाहा र बसन्तपुर बस्ने ३१ वर्षीय समिरजंग कुमाल मध्यम घाइते भएका छन्। दुवैको टाउको र हातखुट्टामा चोट लागेको बताइएको छ।

दुर्घटनामा संलग्न तेल ट्याङ्कर घटनास्थलबाट करिब १५ मिटर तल खसेको छ। ट्याङ्कर चालक सल्यान शारदा नगरपालिका–१४ घर भई हाल दाङ तुल्सिपुर उपमहानगरपालिका–६ बसोबास गर्ने ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अरुणखोलामा राखेको छ।

तपाईको प्रतिक्रिया