काठमाडौं । नेपालले आज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा ओमानसँग निर्णायक भिडन्त खेल्दैछ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बेलुका ८:४५ बजे सुरु हुनेछ ।
नेपाल र ओमान दुवै टोली हालसम्म छनोटमा अपराजित छन् । आजको खेलको विजेता टोली आगामी वर्षको टी–२० विश्वकपका लागि प्रत्यक्ष छनोट हुने भएकाले यो खेल दुवैका लागि “फाइनल” सरहको बनेको छ ।
नेपालले आइतबार यूएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो । ओमानले पनि सोही क्रममा कतार र यूएई दुवैलाई हराएको छ ।
यसअघि वार्म–अप खेलमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक सामना भएको छ — जसमा नेपालले ५ र ओमानले सुपर ओभरसहित ३ खेल जितेका छन् ।
नेपालले सुपर सिक्स चरणको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ ।



















उज्यालो खबर









