×

–  दृष्टान्त योगि

नेपाल जस्तो धार्मिक, सांस्कृतिक र विविधतापूर्ण मुलुकमा मासु खाने परम्परा, विशेषगरी दशैँजस्ता चाडपर्वमा हुने बलि प्रथा अझै निरन्तर छ। तर यसले उठाउने गम्भीर प्रश्नलाई बेवास्ता गर्न मिल्दैन।

हामीले जनावरलाई तल्लो दर्जाको, फोहोरी र दुष्ट ठान्छौँ। तर त्यसैको मासु, छाला, रगत, आन्द्रा–भुँडीसम्म लुछेर खान्छौँ। यो भन्दा ठूलो विरोधाभास के हुन सक्छ? मानवजस्तै हाड–छाला, मासु, रगत, डर, लाज, संकोच, दुःख–सुख, मिलन–विछोड अनुभव गर्न सक्ने जीवलाई निर्ममतापूर्वक मारेर खानु नैतिकताले कसरी उचित मान्न सकिन्छ?

धर्मकर्म, पूजा–आराधना, व्रत–तीर्थ गरेर पुण्य कमाउने विश्वास राख्ने मानिस नै दशैँमा भाकल गर्दै बलि दिन्छन्। विद्यालयका शिक्षकसम्मले विद्यार्थीलाई मासुको भोज गराउँदै संस्कार सिकाउने नाममा दोहोरो अभ्यास देखाउँछन्। यस्तै परम्पराले शिक्षा, मानवता र धर्मको मूल मूल्यलाई कमजोर पारिरहेको छ।

आज मासु उत्पादन औद्योगिक रूपमा भइरहेको छ। एक किलो मासु उत्पादन गर्न १०–१२ किलो अन्न, पानी, चारा खपत हुन्छ, जब कि लाखौँ मानिस भोकमरीमा छन्। साथै, रासायनिक प्रविधिबाट उत्पादन गरिएको मासुले मानिसलाई शारीरिक र मानसिक रूपमा कमजोर बनाइरहेको छ। मासु उत्पादनसँगै जंगली जनावर लोप हुँदैछन्, प्राकृतिक सन्तुलन बिग्रँदैछ, ग्लोबल वार्मिङ र दुर्लभ जडीबुटीको समाप्ति तीव्र भइरहेको छ।

मासु सेवनले मात्र पेट भरिन्छ, तर चेतना कमजोर हुन्छ। मासु खाने मानिसमा रिस, क्रोध, हिंसा बढ्ने विभिन्न अध्ययनले देखाएका छन्। यसका कारण समाजमा झैझगडा, चोरी, हत्या, बलात्कारदेखि अनेक अपराध बढिरहेका छन्।

मासु खान छाडेको ११ वर्षको अनुभवसँगै म यो भन्न सक्छु कि शाकाहार जीवन हल्का, पवित्र र सिर्जनात्मक हुन्छ। होटल क्षेत्रमा सात वर्ष काम गर्दा मासुको अत्यधिक सेवनले म रोगी बनेँ। तर योग साधना र शाकाहारमा फर्किएपछि नयाँ जीवन पाएँ। मासुले जिब्रो र पेटलाई त सन्तुष्ट पार्छ, तर दीर्घकालीन स्वास्थ्य र उर्जावान जीवन दिन सक्दैन।

निर्दोष जीवको हत्या गरेर इच्छा–कामना पूरा हुन्छ भन्ने विश्वास अज्ञानतामात्र हो। प्रकृतिले हामीलाई बाघ, ब्वाँसो, हाइना जस्ता शिकार गर्ने अङ्ग दिएको छैन। हामी स्वाद र स्वार्थको पञ्जामा परेका छौँ। बाँच्ने अधिकार सबैको हुन्छ। यसबारे अब समाज सचेत बन्न जरुरी छ।

तपाईको प्रतिक्रिया