चितवन- मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोलामा खसेको ठूलो पहिरो हटाउने कार्य आज बिहान ६ बजेदेखि सुरु गरिएको छ ।सडक डिभिजन भरतपुरका अनुसार माथिबाट थप ठूलो पहिरो खस्ने सम्भावना भने कम देखिए पनि अझै साना तथा मझौला ढुंगाहरू खस्न सक्ने जोखिम रहेको छ । त्यसैले उपकरण तथा श्रमिकहरू पूर्ण सुरक्षा कायम गर्दै पहिरो पन्छ्याउने कार्यमा खटिएका छन् ।
यो सडक खण्डमा खसेको पहिरोको परिमाण करिब १२ हजारदेखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको छ । यस कारण पूर्णरुपमा पहिरो पन्छ्याउन समय लाग्ने भएकाले भोलि दिउँसो मात्र दुबै तर्फ सवारी सञ्चालन सम्भव हुने अनुमान गरिएको छ ।
सडक डिभिजनले यात्रु महानुभावलाई धैर्यता कायम राख्न आग्रह गर्दै, पहिरो पन्छ्याउने क्रममा कुरिनटार र भरतपुरबाट इन्धन तथा अन्य आवश्यक उपकरण बोकेर विभागका गाडी आवतजावत गर्ने भएकाले यातायातका साधनहरूले लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।



उज्यालो खबर




