धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी बन्द भएको छ।
गएराति खसेको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि राति नै फेरि ठूलो पहिरो झरेपछि सडक सम्पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
प्रहरीका अनुसार पहिरो झर्ने क्रम निरन्तर रहेकाले अहिलेसम्म पन्छाउने काम सुरु गर्न नसकिएको छ। बाटो बन्द रहेकाले यात्रु र सवारी चालकदलका सदस्यहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीहरूले उनीहरूलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्न आग्रह गरेका छन्।
यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा पहिरो खसेर ४० घण्टासम्म सडक अवरुद्ध भएको थियो। सो घटनाबाट सामान्य भएको गाडी चाप अझै सहज भइनसक्दै जवाङ खोलामा फेरि पहिरो खसेपछि यात्रुहरू थप समस्यामा परेका छन्।
दशैं मनाउन गाउँ फर्किरहेकाहरूको यात्रा यस घटनाले कष्टकर बनेको छ।



उज्यालो खबर




