भरतपुर–१०, विमानस्थल अगाडि एक अर्ब ८५ करोड रुपैयाँको लागतमा निर्माण भएको आधुनिक होटल र मार्टसहितको चितवन विजनेस कम्प्लेक्स औपचारिक रूपमा सञ्चालनमा आएको छ।
कम्प्लेक्सभित्र चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (CVC) र सेल्सवेरी मार्टको ३८ औं शाखा एकसाथ सञ्चालनमा ल्याइएको हो।
अध्यक्ष दिनुप बरालका अनुसार, होटल र भवन निर्माणका लागि एक अर्ब ६० करोड रुपैयाँ र मार्ट सञ्चालनका लागि २५ करोड रुपैयाँ लगानी गरिएको छ। उनले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त Lords Hospitality सँग सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बताए।
लड्सले अमेरिका, भारतसहित विभिन्न देशमा चेन होटल सञ्चालन गर्दै आएको छ। चितवनमा सञ्चालन भएको यो होटलमा ५८ कोठा रहेका छन्—१ प्रेसिडेन्टियल, ३ स्वीट, १० सुपर डिलक्स, १५ प्रिमियम र बाँकी स्ट्यान्डर्ड। सन् २०२५ भरी होटलमा २५ प्रतिशत छुटको सुविधा उपलब्ध हुनेछ।
होटलभित्र ५ सय जनाको क्षमताको सभा हल, १ सय क्षमताको कन्फ्रेन्स हल र ३० जनासम्म अट्ने ३ वटा बैठक कक्ष छन्। साथै, १२५ जनाले एकैपटक सेवा लिन सक्ने सुविधा भएको रेस्टुरेन्टसमेत सञ्चालनमा छ।
सेल्सवेरीमार्फत ग्रोसरी, हाउसवायर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री उपलब्ध हुनेछन्। दशैं–तिहारको अवसरमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्प्लेक्स दुई तला अण्डरग्राउन्डसहित ११ तला अग्लो छ, जसको कुल क्षेत्रफल १ लाख ७ हजार स्क्वायर फिटमा फैलिएको छ। तीन तलामा सेल्सवेरी मार्ट र ६ तलामा होटल सञ्चालन गरिएको छ।
सवारी साधन पार्किङका लागि दुई तला अण्डरग्राउन्डमा ८० वटा चारपाङ्ग्रे र २०० वटा दुईपाङ्ग्रे पार्किङको सुविधा छ। सो कम्प्लेक्सले करिब १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको अध्यक्ष बरालले जानकारी दिए।
चितवन विजनेस कम्प्लेक्सको निर्माण कार्य सन् २०१९ बाट थालिएको हो। यहाँ १८ जना लगानीकर्ताको संयुक्त लगानी रहेको छ।



उज्यालो खबर




