×

गैँडाकोट- ‘जेनजी आन्दोलन’का क्रममा गैँडाकोटमा कार्यालय, सरकारी निकाय, निजी सम्पत्ति र सवारी साधनमा व्यापक तोडफोड र आगजनी भएको छ। स्थानीय राजनीतिक दलहरूले यस घटनाको कानुनी कारबाहीको माग गर्दै नागरिकलाई संयमित हुन अपिल गरेका छन्।

नेपाली कांग्रेस नगर कार्यसमिति सभापति बद्री सापकोटा र नेकपा (एमाले) नगर समितिका सचिव राजु भुषालले हस्ताक्षर गरेको विज्ञप्तिमा  गैँडाकोटमा सरकारी कार्यालय, निजी सम्पत्ति तथा नेताहरूका घर र सवारी साधनमा तोडफोड भएको प्रमाणसहित कानुनी कारबाहीको माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनको उद्देश्य समर्थनयोग्य भए पनि तोडफोड, आगजनी र हिंसा स्वीकार्य छैन। संविधान र लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुने गतिविधि स्वीकार्य छैन।”राजनीतिक दलहरूले नागरिकहरूलाई संविधानको रक्षा, लोकतान्त्रिक मूल्यको संरक्षण र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। साथै, तोडफोड, आगजनी र हिंसाबाट टाढा रहँदै आफ्ना पेशा, व्यवसाय र दैनिक जीवनलाई उच्च मनोबलका साथ निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

भदौ २४ मा गैँडाकोटमा भएको अराजक घटनामा नगरपालिकाका विभिन्न कार्यालय, मौलाकालिका केबलकार, नगरप्रमुख मदनभक्त अधिकारीको घर तथा सवारी साधन, उपप्रमुख शान्ति कोइरालाको घर, नेकपा (एमाले)का जिल्ला उपसचिव षडानन्द लामिछानेका सवारी साधन, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको घर, नेपाली कांग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनका घर तथा सवारी साधन, नेपाली कांग्रेस नगर सभापति बद्री सापकोटाका सवारी साधन, नेपाली कांग्रेस र नेकपा (एमाले) पार्टी कार्यालय साथै गैँडाकोटका विभिन्न वडा कार्यालयमा तोडफोड र आगजनी भएको प्रमाणसहित कानुनी कारबाहीको माग गरिएको छ।

साथै, जेनजी आन्दोलनले उठाएको मागअनुसार नयाँ सरकार गठनको प्रक्रियामा नेपाली सेना र राष्ट्रपतिबीच भइरहेको छलफललाई राजनीतिक दलहरूले समर्थन गरेका छन्। यसले लोकतान्त्रिक प्रणाली भित्रै समस्या समाधानको प्रयास अघि बढिरहेको संकेत गर्दछ।

तपाईको प्रतिक्रिया