काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।
भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्वस्स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् ।
उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ? ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।
प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । उनीहरुले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।



उज्यालो खबर




