×

चितवन – भरतपुर जनसेवा बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ। संस्थाको वार्षिक साधारण सभाले चेतप्रसाद सेढाईलाई अध्यक्ष चयन गर्दै नयाँ सञ्चालक समिति गठन गरेको हो।

उपाध्यक्षमा रामप्रसाद सापकोटा, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा महेन्द्रप्रसाद न्यौपाने तथा सदस्यमा संगिता थापा, मिना पौडेल, विमला भट्टराई, भरतबहादुर सुवेदी र छन्दलाल इटनी निर्वाचित भएका छन्। यस्तै, भरतप्रसाद काफ्लेको संयोजकत्वमा कुमार उप्रेती र हरिप्रसाद भट्टराई सदस्य रहेको लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत चयन गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार संस्थाले २ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कुल ६ करोड ८४ लाख आम्दानीमध्ये ४ करोड ३९ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

भरतपुर महानगरपालिका–१२ मा मुख्य कार्यालय रहेको यस सहकारीमा वडा नं. १ देखि १६ र २९ गरी १७ वटा वडाका ४ हजार ३७६ जना सदस्य छन्। सहकारीमा जम्मा भएको ५० करोड ४० लाख रुपैयाँमध्ये ४० करोड ६३ लाख लगानीमा रहेको जनाएको छ।

साधारण सभा तत्कालीन अध्यक्ष कुलबहादुर खत्रीको अध्यक्षतामा, बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा भरतपुर–१२ का वडाअध्यक्ष लेखराज पन्त विशिष्ट अतिथि रहेका थिए। उपाध्यक्ष शेषमणी नेपालले स्वागत मन्तव्य राखेका थिए भने बेदप्रसाद बन्जगाईंले सञ्चालन गरेका थिए।

सभाको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा असल कारोबार गर्ने सेयर सदस्यलाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया