×

नवलपुर-नवलपुरको देवचुली नगरपालिका–१५ लोकहा स्थित पूर्व–पश्चिम राजमार्गमा  कन्टेनर र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–१ का ३०–३५ वर्षीय माधव पंगेनी गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएका पंगेनीको बिहान १:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की टाउकोमा चोट लागी मध्यम घाइते भएका छन् भने महोत्तरी बर्दिवास नगरपालिका–११ का ३० वर्षीय बिच बहादुर थिङ शरीरका विभिन्न भागमा चोट लागी मध्यम घाइते भएका छन्। दुबैको उपचार भरतपुरस्थित एलाइभ अस्पतालमा भइरहेको छ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया