गैँडाकोट । नेपाली कांग्रेस नगरकार्य समिति गैँडाकोटले १८ वटै वडामा वार्षिक भेला तथा वडा सम्मेलन गर्ने निर्णयअनुसार आज वडा नम्बर ४ मा बृहत् भेला सम्पन्न भएको छ।
कार्यवाहक सभापति रामचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं. ४ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी, जनप्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा नगर प्रतिनिधि एवं नगर सचिव गोविन्द घिमिरेले पार्टी संगठनलाई अझ मजबुत बनाउन वडा स्तरका विभिन्न समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा परिवर्तन, विकास र सुशासन स्थापित भएको उल्लेख गर्दै आगामी दिनमा स्वदेशमै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले नागरिकलाई ढुक्क भएर काँग्रेससँगै रहन र कसैको झुटा प्रचारमा नफस्न आग्रह गर्नुभयो।
सो भेलामा पूर्व जिल्ला सल्लाहकार टोलनाथ घिमिरे, महाधिवेशन प्रतिनिधि संगीता घिमिरे, पूर्व जिल्ला सदस्य कमल पराजुली र कमला तिवारी, वडा अध्यक्ष तेजप्रसाद घिमिरे, पूर्व वडा अध्यक्ष कृष्ण न्यौपाने, महिला संघ सभापति लक्ष्मी पोखरेल, शुभश्री टोल कार्यसमिति सभापति ढुण्डिराज रिमाललगायत नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।

भेलाबाट ६ वटा उपसमिति गठन गरिएको छ।वडा सम्मेलन तयारी समिति संयोजकमा रामचन्द्र घिमिरे, वार्ड महिला समन्वय समिति गठन तथा परिचालन समिति संयोजकमा संगीता पण्डित घिमिरे घरदैलो अभियान सञ्चालन समिति संयोजकमा दामोदर तिवारी सामाजिक सञ्जाल प्रयोग तथा परिचालन समिति संयोजकमा रोशन दर्लामी मगर खेलकुद तथा सांस्कृतिक क्षेत्र परिचालन समिति संयोजकमा प्रकाश पौडेल र भातृ संघ तथा युवा परिचालन समिति संयोजकमा पदम रानाभाट रहनु भएको छ । भेलाको सहजीकरण वडा सहसचिव प्रदीप तिवारीले गर्नुभएको थियो।



उज्यालो खबर