×

चितवन-  एटुजेड समाचार डटकमले आयोजना गरेको तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम आइतबार भरतपुर–७ स्थित होटल पौवामा सम्पन्न भएको छ।

“हरितालिका तीज : पर्व कि प्रदर्शन?” विषयमा आयोजित प्रतियोगितामा पत्रकार कल्पना आचार्य प्रथम भइन्। उनले नगद ५० हजारसहित प्रमाणपत्र प्राप्त गरिन्। यस्तै करुणा देवकोटा दोस्रो भइ २५ हजार, दिप्ती विश्वकर्मा तेस्रो भइ १५ हजार र सिन्धु ढकाल सान्त्वना भइ १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा २५ जना महिला पत्रकारले सहभागिता जनाएका थिए। निर्णायकमा त्रिभुवन विश्वविद्यालय विरेन्द्र क्याम्पसका प्राध्यापक डा. एकनारायण पौडेल, कालिका संस्कृत विद्यापीठ गैंडाकोटका प्राचार्य केशव चालिसे र नेपाली लेखक संघकी अध्यक्ष शान्ती शर्मा रहेका थिए।

कार्यक्रम एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभापतित्वमा भएको थियो। उनले महिला पत्रकारलाई चितवनसँग पुनः जोड्ने र मौलिक कला–संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ सल्लाहकार डा. भोजराज अधिकारी रहेका थिए। उनले पत्रकार समाज परिवर्तनको अग्रपंक्तिमा रहेकाले लेखन प्रतियोगिताले नयाँ सोच र शैलीलाई प्रोत्साहन गर्ने बताए।

सो अवसरमा निर्णायक संयोजक बालकृष्ण थपलिया र वरिष्ठ पत्रकार प्रकाश ज्ञवालीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रम संयोजक अस्मिता पराजुलीले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालन पत्रकार बाल गोबिन्द न्यौपानेले गरेका थिए।

तपाईको प्रतिक्रिया