गैँडाकोट- गैँडाकोट नगरपालिकामा करिब दुई वर्षको कार्यकाल पूरा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई शुक्रबार औपचारिक समारोहका बीच विदाई गरिएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा पालिका मातहतका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख अधिकारी र उपप्रमुख कोइरालाले खनाललाई ढाकाटोपी र मायाको चिनो अर्पण गरी सम्मान गर्नुभयो ।
२०८० साल भदौ २१ गते अर्घाखाँचीको शितगंगा नगरपालिकाबाट सरुवा भई गैँडाकोटमा कार्यभार सम्हाल्नुभएका खनालले कार्यकुशल, परिणाममुखी र जिम्मेवार प्रशासकका रूपमा परिचय स्थापित गर्न सफल भएको वक्ताहरूले स्मरण गरे ।
मेयर मदनभक्त अधिकारीले खनालको कार्यकाललाई स्मरण गर्दै भन्नुभयो– “गैँडाकोटको प्रशासनिक सुदृढीकरणमा उहाँको योगदान अतुलनीय छ । जनप्रतिनिधि र कर्मचारीबीच सन्तुलित सहकार्य गर्दै खनालले सुशासनको आधार मजबुत बनाइदिनुभयो ।”
त्यसैगरी उपप्रमुख शान्ति कोइरालाले भन्नुभयो– “दुई वर्षको अवधिमा उहाँले देखाउनुभएको प्रतिबद्धता र कार्यकुशलताले नगरपालिकालाई उदाहरणीय ढङ्गले अघि बढाएको छ । उहाँप्रति हामी कृतज्ञ छौं ।”
विदाई कार्यक्रममा आफ्ना भावनाहरू व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले भन्नुभयो– “गैँडाकोट मेरो लागि केवल कार्यस्थल मात्र नभई अनुभव र प्रेरणाको पाठशाला रह्यो । जनप्रतिनिधि, राजनीतिक दल तथा कर्मचारी सबैले दिएको साथ, सहयोग र माया अविस्मरणीय रहनेछ । नयाँ जिम्मेवारीमा रहँदा पनि गैँडाकोटका अनुभवहरू मार्गदर्शन गर्नेछन् ।”
गैँडाकोट नगरपालिकाले खनालको सेवाकाललाई प्रशंसनीय ठहर गर्दै आगामी जिम्मेवारीमा सफलताको शुभकामना व्यक्त गरेको छ ।





उज्यालो खबर




