नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- देवचुली नगरपालिका–१७ को टोक्रे खोलामा मंगलबार साँझ भएको अटो लोडर दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
लु १ स ९०९४ नम्बरको सामान बोक्ने अटो लोडर नियन्त्रण गुमाउँदा सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा परेर भारत, मोतिहारी घर भएका ३५ वर्षीय रिजवान खानको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यसैगरी, दुर्घटनामा परेर अन्य ११ जना भारतीय नागरिक घाइते भएका छन्। घाइतेहरूमा सवना खातुन, रजिया खातुन, मोहम्मद रजा, मेहेक इस्तियाक, इस्तियाक आलम, मौजमा इमाम, जोया इस्तियाक, निजामुदिन हुसेन, सावा खातुन, उमर रजा र कुलसुम वान रहेका छन्। उनीहरूको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भैरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका भारतीय नागरिक विवाह समारोहमा सहभागी हुन आएका बेला घुम्न गएका अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



उज्यालो खबर




