गैंडाकोट – गैंडाकोटमा अवस्थित वेस्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (WACEM) ले गुणस्तरीय र व्यवहारिक शिक्षा दिने उद्देश्यसहित आगामी शैक्षिक सत्रका लागि बिबिए र सिभिल इन्जिनियरिङ कार्यक्रमको प्रवेश प्रक्रिया सुरु गरेको छ।
आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य इन्जिनियर राजन सापकोटा, शैक्षिक इन्चार्ज कमल तिवारी, सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रामनाथ पोख्रेल र प्रशासनिक प्रमुख प्रकाश सापकोटा उपस्थित हुनुहुन्थ्यो।
सापकोटाले WACEM लाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “यहाँको शिक्षा केवल प्रमाणपत्रसम्म सीमित छैन, जीवनमा उपयोग हुने सीप विकासमै केन्द्रित छ।” त्यस्तै तिवारीले उद्योगसँगको सहकार्यमा विद्यार्थीलाई तालिम र रोजगारीको सहज अवसर उपलब्ध हुने जानकारी दिनुभयो।
कलेजले सञ्चालन गर्ने व्यवसाय प्रशासन स्नातक (बिबिए) कार्यक्रममा व्यवस्थापन, वित्त, बजार व्यवस्थापन, मानव संसाधन र उद्यमशीलता जस्ता विषय समावेश हुनेछन् भने सिभिल इन्जिनियरिङ कार्यक्रममा संरचनात्मक डिजाइन, निर्माण व्यवस्थापन र परियोजना–आधारित व्यवहारिक शिक्षामा विशेष ध्यान दिइने बताइएको छ।
कलेजले बिबिएका लागि व्यवस्थापन प्रवेश परीक्षा र सिभिल इन्जिनियरिङका लागि सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षाको आधारमा भर्ना लिने जनाएको छ। विद्यार्थीका लागि आवश्यकता र योग्यता दुवैलाई आधार बनाएर छात्रवृत्ति उपलब्ध गराइनेछ, जसमा नगरपालिकाको सिफारिससहित विशेष आन्तरिक छात्रवृत्ति पनि समावेश गरिएको छ।
कलेजले अध्ययनलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिसम्पन्न कक्षाहरू तयार पारेको छ भने इन्जिनियरिङ र व्यवस्थापन दुवै संकायका लागि आवश्यक पर्ने प्रयोगशाला र कार्यशालाको व्यवस्था पनि गरेको छ। विद्यार्थीलाई आवश्यक अध्ययन सामग्री सहजै उपलब्ध गराउन पुस्तकालयमा पाठ्यपुस्तकदेखि सन्दर्भ पुस्तक, जर्नल र पत्रिकासम्मको संग्रह राखिएको छ।
विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद तथा सह–पाठ्यक्रम गतिविधिलाई नियमित रुपमा सञ्चालन गर्दै आएको कलेजमा, सहज पढाइका लागि विद्यार्थीमैत्री वातावरण र आवतजावत सहज बनाउन यातायात सुविधा पनि उपलब्ध छ।
यस्तै, निकट भविष्यमै बीएससी सीएसआइटी, बिएचएम, बिआइटी र एमबिए कार्यक्रम सञ्चालन गर्ने तयारी भइसकेको प्राचार्य राजन सापकोटाले जानकारी दिनुभयो।






उज्यालो खबर




