×

नवलपुर । गैंडाकोट – १ मा रहेको सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले आज (शुक्रबार)देखि राष्ट्रिय सेवा दल (एनसीसी) को सिनियर डिभिजन तालिम एवं प्रथम प्रवचन-२०८२ सुरु गरेको छ ।  विशेष कार्यक्रमको आयोजना गरी तालिमको औपचारिक सुरुवात गरिएको हो ।

सिनियर डिभिजनका लागि छनोट भएका ३० जना विद्यार्थीको सहभागितामा सुरु भएको तालिम उद्घाटन कार्यक्रममा अभिभावक, शिक्षक तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीहरूले अध्ययनसँगै अतिरिक्त गतिविधिमा संलग्न हुनुले राष्ट्रप्रतिको प्रेमभाव जगाउने र सक्षम नागरिक तयार गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

श्री नं. २ वन तथा पर्यावरण गणका सेनानी विशन गुरुङले विद्यार्थीलाई राष्ट्रप्रतिको माया, कर्तव्य र अधिकारबारे सचेत बनाउन एनसीसी तालिम प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।

विद्यालयका प्रिन्सिपल भरतबाबु कँडेलले विद्यार्थीले यस तालिममा सहभागी हुन पाउनु विद्यालयकै लागि गौरवको विषय भएको बताउँदै, विद्यालयले आत्मविश्वासी, सक्षम र अग्रणी नागरिक उत्पादन गर्ने वातावरण निरन्तर तयार गरिरहेको प्रष्ट पार्नुभयो।

त्यसैगरी शिक्षक–अभिभावक संघका अध्यक्ष कमलापति शर्माले विद्यार्थीहरूले यो अवसरलाई सदुपयोग गर्दै आफ्नो प्रतिभा र नेतृत्व क्षमता उजागर गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रशिक्षक खड्कबहादुर गोतामे र सन्तोष रेग्मी, नगर शिक्षा अधिकारी रामप्रसाद अधिकारी, विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवी कडेल, विभिन्न वडाध्यक्षहरू तथा समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

सिनियर एनसीसी तालिममा सहभागी विद्यार्थीहरू आत्मविश्वासी र उत्साहित मुद्रामा देखिएका थिए।

तपाईको प्रतिक्रिया