गैंडाकोट- गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा गैंडाकोटमा सम्पन्न तीज गीत प्रतियोगितामा गैंडाकोट–२ स्थित शिलान्यास टोल महिला समूहले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान प्राप्त गरेको छ।
हरितालिका तीज–२०८२ को अवसरमा आयोजित प्रतियोगितामा गैंडाकोट नगरभित्रका १९ वटा महिला समूहको सहभागिता थियो। प्रतिस्पर्धामा गैंडाकोट–१ को प्रगति टोल महिला समूह दोस्रो, गैंडाकोट–५ को भृकुटी चोक महिला समूह तेस्रो तथा गैंडाकोट–२ को जनजागृति महिला समूहले सान्त्वना पुरस्कार हात पारेका छन्।
कार्यक्रममा सहभागी महिला समूहहरूले मौलिक भाकामा तीज गीत प्रस्तुत गर्दै समाजका विविध पक्ष, महिला सशक्तिकरण, र सांस्कृतिक चेतनालाई कलात्मक रूपमा उजागर गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन अमर बिरही गुरुङ, शारतादेवी शर्मा र अजिता अधिकारी पौडेलले गर्नुभएको थियो।
समारोहमा बोल्दै गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले तीज पर्व केवल मनोरञ्जनको माध्यम नभई महिलाको अभिव्यक्ति र आत्मनिर्भरता प्रस्ट्याउने अवसर भएको बताउनुभयो। “महिलाहरू अब घरको चौकोभित्र मात्र सीमित रहनुहुन्न, आर्थिक रूपमा सक्षम बन्ने होडमा पनि अग्रसर हुनुहुन्छ,” उपप्रमुख कोइरालाले भनिन्।
संस्थाका अध्यक्ष गोविन्द सुवेदीले सहकारी सचेतना र महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै अपेक्षाभन्दा बढी सहभागिताले कार्यक्रम सफल भएको बताए।कार्यक्रममा सहकारीका विभिन्न तालिमबाट महिलाले उत्पादन गरेका झोला, चप्पल, हस्तकलाका सामग्रीहरू प्रदर्शन र बिक्री गरिएका थिए, जसले महिला उद्यमशीलताको उदाहरण प्रस्तुत गर्यो।



उज्यालो खबर




