×

नवलपुर- नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले पद त्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक प्रवेश गरेका छन्। गैँडाकोट नगरपालिका–२ निवासी श्रेष्ठलाई रास्वपाको केन्द्रीय श्रम तथा उपभोक्ता विभागको उप–प्रमुख पदमा नियुक्त गरिएको रास्वपा गैँडाकोट नगर सभापति विमल घिमिरेले जानकारी दिएका छन्।

श्रेष्ठ विगत २५ वर्षदेखि मजदुर संगठनमा सक्रिय रहँदै श्रमिक तथा मजदुर वर्गको हकहितका लागि अग्रसर रहँदै आएका अनुभवी नेता हुन्। नेपाली कांग्रेसभित्र बौद्धिक व्यक्तित्व, इमानदार छवि र संगठनमा राम्रो पकड भएका नेताका रूपमा उनी चिनिन्थे। उहाँको राजनीतिक र सामाजिक छवि सधैं शुद्ध विचार र स्पष्ट धार बोकेको नेताको रूपमा चर्चित रहँदै आएको थियो।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै श्रेष्ठले भने, “पुराना पार्टीहरूले युवालाई अवसर दिन सकिरहेका छैनन्। नीति र सिद्धान्तभन्दा बाहिर राजनीति चलेकोले परिवर्तनको हुटहुटीका साथ निर्णय गरेको हुँ।” उनले मजदुर वर्गको अधिकार, युवाको भरोसा र जनताको अपेक्षा सम्बोधन गर्दै जनताप्रति नजिकबाट काम गर्ने प्रतिबद्धता जनाए।

श्रेष्ठको यस निर्णयले नेपाली कांग्रेसभित्र गम्भीर असन्तोष र आत्मसमीक्षाको खाँचो औंल्याएको छ। लामो समयदेखि समर्पित नेतृत्वद्वारा लिइएको यस्तो निर्णयले श्रमिक आन्दोलन मात्र नभई पुराना पार्टीहरूकै सन्तुलन हल्लिएको आँकलन गरिएको छ।

रास्वपाले  भनेको छ, “श्रेष्ठको अनुभव, दूरदृष्टि र इमानदार नेतृत्व पार्टीको श्रम तथा उपभोक्ता अधिकार संरक्षण अभियानमा निर्णायक हुनेछ।”

तपाईको प्रतिक्रिया