नवलपुर- गैँडाकोट नगरपालिका–१८ को बसेनी क्षेत्रमा आज ७५०० वटा अर्थोडक्स जातका चियाका विरुवा रोपिएको छ। नगरपालिका र वडा कार्यालयको संयुक्त पहलमा विभिन्न स्थानमा रोपिएको चियाका विरुवा नवलपुर जिल्लामा पहिलोपटक चियाखेतीको थालनी भएको हो।
नगरप्रमुख मदनभक्त अधिकारीले चियाखेतीलाई दीर्घकालीन आयआर्जनको स्रोत बनाउने उद्देश्यले सुरु गरिएको बताए। उनले भने, “स्थानीयस्तरमै उत्पादन बढाएर आम्दानी बढाउने प्रयासमा हामी जुटेका छौँ। चिया खेतीबाट रोजगारी, पर्यटन र आन्तरिक आम्दानीमा उल्लेखनीय योगदान हुने विश्वास लिएको छौँ।”
वडा अध्यक्ष तिल बहादुर चितौरेले वडा नं. १८ को बसेनी क्षेत्र चिया खेतीका लागि विशेष सम्भावना बोकेको बताए। “हाम्रो वडामा प्राकृतिक बनावट र माटोको बनोट चिया खेतीका लागि उपयुक्त छ भन्ने प्राविधिक प्रतिवेदन आएको थियो,” उनले भने, “स्थानीय कृषकलाई प्रोत्साहन गर्न र दीर्घकालीन योजनाका साथ यो अभियान थालिएको हो।”
वडा सचिव रामू पौडेलले चियाका विरुवा रोप्ने कार्य व्यवस्थित रूपमा सम्पन्न गरिएको जानकारी दिए। उनका अनुसार, “विभिन्न स्थानमा सिँचाइ, माटोको परीक्षण र वातावरणीय पक्ष मूल्याङ्कन गरेर विरुवा रोपिएको हो। यसले कृषि पर्यटनको समेत विकासमा टेवा पुर्याउनेछ।”
प्राविधिक टोलीले बसेनी क्षेत्र चियाखेतीका लागि उपयुक्त रहेको प्रतिवेदन दिएपछि यो परियोजना सुरु गरिएको हो। स्थानीय सरकारको योजना अनुसार आगामी वर्षहरूमा उत्पादन बढाउने र बजार व्यवस्थापनमा समेत ध्यान दिने तयारी गरिएको छ।



उज्यालो खबर




