काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेताकार्यकर्ताहरूलाई चेतावनी दिएका छन्।आफूले पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार च्यासलमै भेटवार्ता गरेको उल्लेख गर्दै उनले भण्डारीलाई केही सुझाव दिएको पनि बताएका थिए।
‘मैले विद्याजीलाई हिजो भेटेँ, बालुवाटार बोलाएको, पार्टी कार्यालय देखेको छैन भन्नुभयो, के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन छुलो कुरा गर्नुपर्छरु,’ ओलीले भने, ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्यो त्यो, मैले सुझाव दिएको छु, उहाँले के गर्नुहुन्छ भनिसक्नु भएको छैन।’उनले भेटवार्तामा पोलिट्ब्युरोको निर्णयका बारेमा जानकारी गराएको पनि बताए।
‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ। उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनु भएको छ। उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ,’ अध्यक्ष ओलीले भने।भेटवार्तासम्बन्धी प्रस्ताव भण्डारीबाटै आएको पनि ओलीले बताए।
‘उहाँ पार्टी कार्यालय आउँदा केही असन्तुष्ट र आफै चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए। उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउन पर्छ भनेर अध्यक्ष भने प्रचार गर्न। त्यस्तै, भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठिक हो। उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरूरी छैन। हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ। अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ,’ अध्यक्ष ओलीले चेतावनी दिँदै भने।
साथै उनले ‘पार्टी सदस्यता नवीकरणको विषय ठूलो नभए पनि अहिलेसम्म त्यसको अनुमति पार्टीले नदिएको’ बताएका थिए।



उज्यालो खबर




