×

भरतपुर – साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला नेपालकै पवित्र तीर्थस्थल देवघाटधामलगायत जिल्लाका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा ब्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर मनाउँछन् ।

धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजबाट बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ । त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ ।

देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैंडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । यो मेलालाई बोल ओम मेलाको रुपमा समेत मनाइन्छ । महिला तथा पुरुष व्रतालुहरु पहेंलो वस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् । चितवन, तनहुँ र नवलपरासीको संगमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत झक्तजनहरु मेला भर्न आउँछन् ।

देवघाटमा अहिले धूमपान र मध्यपान निशेष गरिएको छ । यसवर्ष देवघाटलाई प्लाष्टिक मुक्त बनाउने अभियानका साथ निषेध गरिएको निर्देशक बरालले बताउनुभयो । उहाँले मेलामा आउँदा अभिर,अक्षता,धुपबत्ती ल्याउन प्रयोग गरिने प्लाष्टिकका कारण नदी प्रदुषित बनेको भन्दै आगामी दिनमा कडाइका साथ निषेध गरिने जानकारी दिनुभयो ।

देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने,परिवारमा शान्ति मिल्ने जनविस्वास रहेको स्थानिय मोहन पोखरेलले बताउनुभयो । साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर वेलपत्र तथा गंगाजल शिवमन्दिरमा चढाउने गरिन्छ ।

यसरी चढाउँदा विवाहिता महिलाहरुले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाहरुले असल श्रीमानको कामना गर्दछन् । यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् । सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवक समेत परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यसबर्ष साउन महिनाभर देवघाट आउने भक्तजनको तथ्याङक संकलनको काम समेत गरिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया