×

नवलपुर — नवलपुरको गैडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रमुख सल्लाहकार रामप्रसाद चापागाईं ‘चञ्चल’को निधन भएको छ। उहाँको शनिवार साँझ ४:५४ बजे निधन भएको कलेज प्रशासनले जानकारी दिएको छ।

शिक्षा र संस्थागत विकासमा लामो समयदेखि क्रियाशील रहनुभएका चापागाईंले अक्सफोर्ड कलेजको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएको थियो। कलेजका अनुसार उहाँको दीर्घ समर्पण, नेतृत्वदायी सोच र मार्गदर्शनले संस्थालाई आजको स्थानमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुगेको हो।

‘चापागाईंको योगदान हामी सधैं स्मरण गर्नेछौं,’ कलेजले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ, ‘उहाँको निधनले हामीले एक महान् सल्लाहकार, मार्गदर्शक र शिक्षाप्रेमी व्यक्तित्व गुमाएका छौं।’ चापागाईंप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कलेजले उहाँका परिवारजन, आफन्त, मित्र तथा सम्पूर्ण अक्सफोर्ड परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

शिक्षा र समाजसेवामा समर्पित चापागाईंको निधनले नवलपुरको शैक्षिक समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ।

तपाईको प्रतिक्रिया