×

गैँडाकोट- गैँडाकोटका अग्रज साहित्यकार तथा कवि रामहरि शर्मा ‘सराह’को निधन भएको छ। गत असार २६ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका शर्माको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

दुर्घटनापछि प्रारम्भिक रूपमा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमसी)मा उपचार गराइएका शर्मालाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। मेडिसिटी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा शुक्रबार उहाँको निधन भएको हो।

साहित्यमा गहिरो लगाव राख्ने शर्माले विशेषतः कविता र काव्य विधामा कलम चलाउँदै आएका थिए। उहाँ गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानअन्तर्गत साहित्य विभागको प्रमुखको रूपमा समेत क्रियाशील रहनुभएको थियो। ‘सराह’ उपनामले चिनिने उहाँका रचनाहरू जीवन, समाज र समर्पणका विषयमा केन्द्रित हुने गर्थे।

उहाँको निधनले गैँडाकोट क्षेत्रको साहित्यिक वृत्तमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा शुभेच्छुकहरूले बताएका छन्। साहित्यिक चेतना विकासमा सक्रिय भूमिका खेलेका शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानियबासीले गहिरो शोक व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया