×

नवलपुर-  कावासोती–३ मा १० दिनसम्म संचालन गरिने भनिएको तान्त्रिक झाक्री शिविर अन्ततः रोकिएको छ। नेपाल तान्त्रिक झाक्री संघ केन्द्र, काठमाडौँले जिल्ला प्रशासन कार्यालय नवलपुरसँग अनुमति मागी शिविरको व्यापक तयारी गरिरहेको समयमा प्रशासनको स्पष्ट निर्देशनले समग्र कार्यक्रम संकटमा परेको छ।

झाक्री संघले बिरामीको ‘तात्त्विक उपचार’ गर्ने भन्दै ठूलो दाबीका साथ शिविरको तयारी गरिरहेको थियो। आश्चर्यजनक रूपमा, असार ३० गते प्रशासनले च.नं. ५२८८ मार्फत जिल्ला प्रहरी कार्यालयलाई शान्ति सुरक्षा मिलाउन निर्देशन दिँदै संघलाई समेत पत्र बोधार्थ पठाएको थियो। यसले कार्यक्रम अनुमति पाइसकेको भनेर सर्वसाधारणमा भ्रम सृजना गर्यो।

तर आज, साउन २ गते, प्रशासनले फेरि च.नं. ५२८९ नम्बरको पत्र फेसबुकमा सार्वजनिक गर्दै  भन्यो—”कावासोतीमा झाक्री कार्यक्रमको कुनै अनुमति दिइएको छैन।”

यस निर्णयले नेपाल तान्त्रिक झाक्री संघ केन्द्र काठमाडौँका पदाधिकारीहरूलाई झड्का दिएको छ।  स्थानीय बासिन्दा पनि दुई धारमा बाँडिएका छन्—एक पक्षले ‘अवैज्ञानिक अभ्यासको अन्त्य’ भन्दै स्वागत गरेको छ भने, अर्कोपक्षले ‘परम्परागत उपचारमा अवरोध’ भन्दै आपत्ति जनाएको छ।

शिविरमा ठूला संख्यामा बिरामी भेला हुने अपेक्षा गरिए पनि, प्रशासनको निर्णयले त्यो सम्भावना समाप्त भएको छ। अब के संघ वैधानिक बाटो अपनाउनेछ? वा यो विवाद अझ चुलिनेछ?

तपाईको प्रतिक्रिया