×

नवलपरासी (पूर्व) – नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भीत्रि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।

शुक्रबार राति करिब ९ बजेको समयमा गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले सोही दिशामा पैदल हिँडिरहेकी दुई महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकी हुप्सेकोट–३ निवासी ३०/३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा ज्यान गएको हो।

त्यसैगरी, उक्त दुर्घटनामा परेकी अर्की पैदलयात्री हुप्सेकोट–३ की ३०/३५ वर्षीया इन्दिरा कोईराला गम्भीर घाइते भएकी छन्। उनको टाउको र बाँया खुट्टामा चोट लागेको छ र हाल उनलाई मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक कोलिया, वडा नं. २ निवासी ३५ वर्षीय निशान सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया