×

गैंडाकोट-  परियार सेवा समाज जिल्ला कार्य समिति नवलपुरले गैंडाकोट नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा औपचारिक रूपमा सुरु गरेको छ। श्रावण १ गतेदेखि लागू हुनेगरी बिहीबार एक विशेष कार्यक्रमबीच यस सेवाको उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटाले उद्घाटन मन्तव्य दिंदै गैंडाकोट नगर क्षेत्रभित्र आपतकालीन अवस्थामा रहेका बिरामी तथा दुर्घटनामा परेका व्यक्तिहरूको लागि यो सेवा अत्यन्त उपयोगी र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उक्त अवसरमा परियार समाजका केन्द्रीय सदस्य रुपेश परियारले अब समाज जात, धर्म वा समुदाय विशेषका लागि मात्र नभई सम्पूर्ण पालिकावासीका लागि सेवामा समर्पित रहने बताए।

अक्सफोर्ड कलेजका इन्जिनियर प्रोफेसर डा. हरि भण्डारीले स्वास्थ्य र आपतकालीन सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै, परियार सेवा समाजले सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा उदाहरणीय कार्य भएको बताए। उनले मानवता र सामाजिक उत्तरदायित्वको नमूना प्रस्तुत गरेकोमा समाजलाई धन्यवाद दिंदै निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा समाजसेवी सुशील परियार, कृष्ण कार्की, सन्तोष कोइराला, किसान गुरुङ, सुभाष थापा, दिनेश न्यौपाने, शारदा ढकाल, प्रकाश अधिकारी, नारायण सापकोटा लगायत स्थानीय जनप्रतिनिधि र नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।

गैंडाकोट नगरपालिकाभित्र आपतकालीन अवस्थामा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने र आवश्यक परेमा ९८१६३५९२७१ नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन्।

कार्यक्रम समाजका जिल्ला अध्यक्ष प्रकाश परियारको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजका जिल्ला सदस्य ऋषि परियारले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण समाजकी सदस्य साकिला परियारले गरेकी थिइन्।

तपाईको प्रतिक्रिया