जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव टिकाराम खरेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समयदेखि जापानमा कर्मभूमि बनाएर बस्दै आउनुभएका खरेल एनआरएनएको अभियानमा सक्रिय रूपमा आबद्ध हुनुहुन्छ।उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै भन्नुभयो, “इमान्दारिता, आर्थिक पारदर्शिता र लगनशीलता – सक्षम, सबल र साझा NRNA मेरो प्रतिबद्धता हो।”
हाल २०२३–२०२५ कार्यकालमा महासचिवको जिम्मेवारी सम्हाल्दै आउनुभएका खरेलले यो पदमा रहँदा प्राप्त अनुभव, जनसम्पर्क र संस्थाप्रतिको समर्पणलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
उहाँले भन्नुभयो, “सन् २००८ देखि साधारण सदस्यका रूपमा एनआरएनएको यात्रा सुरु गरेको थिएँ र सन् २०१३ देखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभिन्न तहमा योगदान गर्दै आएको छु। अब यस संस्थालाई अझ व्यवस्थित, पारदर्शी र समावेशी बनाउने दिशामा अघि बढ्न चाहन्छु।”
उहाँका अनुसार एनआरएनए जापानले लिएका नीति, लक्ष्य र योजना अनुसार अघि बढ्दै जापानको कानुनी प्रणाली र संस्थाको विधानको पूर्ण पालना गर्दै नेपाली समुदायले गर्व गर्न सक्ने संस्था निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य हो।
“तपाईंहरूले आजसम्म देखाउनुभएको सद्भाव, साथ र विश्वासमा कुनै कमी आउन दिनेछैन। म मेरो सम्पूर्ण ज्ञान, सीप, विवेक र क्षमता प्रयोग गरेर सबै नेपालीको साझा आवाज बन्ने प्रयास गर्नेछु,” खरेलले प्रतिबद्धता जनाउनुभयो।
आउँदै गरेको निर्वाचनमा उहाँले सम्पूर्ण एनआरएनए सदस्यहरूलाई आग्रह गर्नुभयो, “मलाई तपाईंहरूको अमूल्य मत र समर्थन दिई वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु।”
विगत डेढ दशकदेखि जापानमा रहँदै आउनुभएका खरेल एनआरएनए अभियानमा लामो अनुभव बोकेका युवा नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको कार्यशैली स्पष्ट, समन्वयात्मक र नतिजामुखी रहेको सहकर्मीहरू बताउँछन्।




















उज्यालो खबर










