वर्तमान नेपाली राजनीति जनअपेक्षासँग मेल खान नसकेको र पुराना अभ्यासप्रति बढ्दो निराशाबीच वैकल्पिक राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको छ। व्यवहारिक समाधान, पारदर्शिता, जवाफदेहिता र इमानदारीलाई केन्द्रीय मूल्य मानेर अघि बढिरहेको रास्वपाले परम्परागत वाम–दक्षिण धाराभन्दा अलग, परिणाममुखी वैचारिक आधारको राजनीति गरिरहेको दाबी गर्दै आएको छ।
यसै सन्दर्भमा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय शिक्षा विभागका उप–प्रमुख कृष्णहरी पौडेलसँग गरिएको यो विशेष कुराकानीमा हामीले राजनीतिक वैचारिकता, शासन प्रणाली, संविधानप्रतिको दृष्टिकोण, संघीयता, आर्थिक नीति, परराष्ट्र सम्बन्ध, र समग्र विकासको खाका लगायत विषयमा रास्वपाको आधिकारिक धारणा बुझ्ने प्रयास गरेका छौं।
१. तपाईंको विचारमा राजनीति गर्न वैचारिक स्पष्टता किन जरुरी छ?
राजनीति केवल पद र सत्ता प्राप्तिको साधन होइन, विचार र नेतृत्वको उच्चतम अभ्यास हो भन्ने हाम्रो विश्वास हो। यदि राजनीतिक व्यक्तित्व वा दलसँग वैचारिक स्पष्टता छैन भने त्यो दिशा बिहीन यात्राजस्तै हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट रूपमा इमानदारी, जवाफदेहिता, पारदर्शिता र परिणाममुखी राजनीतिमा विश्वास गर्छ। हाम्रो विचार प्रणाली कुनै परम्परागत वाम–दक्षिणको सीमाभित्र सीमित छैन, बरु व्यवहारमा आधारित नयाँ सोच र समाधानमुखी दृष्टिकोणलाई आत्मसात गर्छ। ‘Pluralistic Democracy’ अर्थात् समावेशी लोकतन्त्र हाम्रो वैचारिक आधार हो, जसले सामाजिक न्याय र सबै नागरिकको सहभागिता सुनिश्चित गर्न खोज्दछ। हामी नारामुखी होइनौं, जनताको वास्तविक समस्या समाधान गर्न सक्षम नीति र कार्यक्रम ल्याउने राजनीतिको पक्षधर हौं।
२. तपाईंको पार्टीको विचार के हो? सिद्धान्त के हो?
रास्वपाको विचार परम्परागत वाम–दक्षिणको विचारधारात्मक खाँचोमा सीमित छैन। हामी समस्या होइन, समाधान केन्द्रित राजनीति गर्छौं। हाम्रो विश्वास छ—राजनीति केवल पद प्राप्तिको प्रतिस्पर्धा होइन, वैचारिक स्पष्टता र दूरदृष्टियुक्त नेतृत्वमार्फत सामाजिक रूपान्तरणको साधन हो। हाम्रो चार सिद्धान्तीय आधारहरू हुन्: (१) इमानदारी, (२) निष्पक्षता, (३) नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने नवदृष्टिकोण, र (४) संस्थागत सुशासन तथा पारदर्शिता। हामी दोषरहित, मापनयोग्य र जनमुखी नीति निर्माणमार्फत जनताको विश्वास जित्ने प्रयत्नमा छौं।
३. के तपाईंहरू हालको संविधान स्वीकार गर्नुहुन्छ वा परिवर्तन चाहनुहुन्छ?
हामी संविधानका मूल मर्म—संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रतिनिधित्व, र नागरिक अधिकारहरू—प्रति पूर्ण सम्मान गर्छौं। संविधानलाई हामी राष्ट्रिय सहमतिमा आधारित, जीवित दस्तावेजका रूपमा लिन्छौं, जसलाई समय र आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ। यसै सन्दर्भमा रास्वपाले सातै प्रदेशमा “संविधान परिमार्जन सुझाव कार्यदल” गठन गरी जनसंवादको प्रक्रिया अगाडि बढाइसकेको छ। हाम्रो धारणा छ—मूल मर्मको संरक्षण गर्दै संविधानलाई अझ जनउत्तरदायी र व्यवहारमै लागू हुने दस्तावेज बनाइनुपर्छ।
४. कुन शासन प्रणाली उपयुक्त लाग्छ – संसदीय, राष्ट्रपतीय कि अन्य?
वर्तमान संसदीय प्रणालीले सत्ता स्थायित्व र कार्यकारी जवाफदेहिता दिन नसकेको स्पष्ट छ। गठबन्धनको नाममा जनमत कमजोर पार्ने प्रवृत्ति, निर्णय प्रक्रियामा ढिलासुस्ती, र कार्यपालिका प्रत्यक्ष जनप्रतिनिधिबाट नचुन्निने अवस्था समस्याको जड हो। त्यसैले रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे बहस अगाडि सारेको हो। हाम्रो २०७९ सालको घोषणापत्रमै “Directly Elected Executive Prime Minister” को प्रस्ताव समावेश थियो। हामी आधुनिक, उत्तरदायी र जवाफदेही शासन प्रणालीको खोजीमा जनसंवादमार्फत सुधारको बाटो अघि बढाउन चाहन्छौं।
५. प्रश्न: संघीयता, समानुपातिक र समावेशी प्रणालीबारे तपाईंको धारणा के हो?
संघीयता जनताको सरकार जनताकै पहुँचमा पुर्याउने अवधारणा हो। यसको मूल मर्म भनेको जनताले आफैंले चुनेको नेतृत्वमार्फत आफ्नै स्थानीय आवश्यकता अनुसार नीति निर्माण र कार्यान्वयन गर्न पाउनु हो। तर व्यवहारमा अहिलेको संघीय संरचना अत्यधिक खर्चिलो, ढिलो, जटिल र जनअपेक्षा अनुरूप प्रभावकारी देखिएको छैन।
हामीले परिकल्पना गरेको संघीयताको स्वरूप स्पष्ट छ—जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुख्यमन्त्री र मुख्यमन्त्रीबाट जिल्ला प्रमुखहरूको नियुक्ति ,जसले कार्यकारी जिम्मेवारीलाई सशक्त र जवाफदेही बनाउँछ। हामी मान्दछौं- संघीयता केवल संरचना निर्माण होइन, सेवा प्रवाहको प्रभावकारिता र जनउत्तरदायित्वका लागि हुनुपर्छ।
समानुपातिक र समावेशी प्रणाली नेपालजस्तो सांस्कृतिक, भाषिक र सामाजिक विविधतायुक्त समाजमा ऐतिहासिक उपेक्षा र संरचनागत विभेदको अन्त्य गर्ने एक आवश्यक तथा दूरदर्शी उपाय हो। तर जब यसको कार्यान्वयन योग्यता, क्षमता र पारदर्शिताका आधारमा नभई केवल संख्यात्मक भागबन्डामा सीमित हुन्छ, तब प्रतिनिधित्वको सन्तुलन बिथोलिन्छ र प्रणालीप्रति नै जनविश्वासमा गम्भीर संकट उत्पन्न हुन्छ।
हाम्रो धारणा स्पष्ट छ—हामी “हक र क्षमता” दुवैलाई सँगै लिएर न्यायपूर्ण, पारदर्शी र परिणाममुखी कार्यान्वयन प्रणाली निर्माण गर्न चाहन्छौं। समावेशी प्रतिनिधित्व र समान अवसरलाई संरक्षण गर्दै, संघीयताको प्रभावकारिता सुनिश्चित गर्न संरचना मात्र होइन, व्यवहार र नेतृत्वको स्तरमै सुधार आवश्यक छ भन्नेमा हामी दृढ छौं।
६. तपाईंको आर्थिक नीति के हो? खुला बजार, राज्य नियन्त्रित कि मिश्रित?
हाम्रो आर्थिक नीति व्यवस्थित खुला बजार अर्थतन्त्र (regulated open market economy) मा आधारित छ। निजी क्षेत्रलाई प्रोत्साहन, प्रतिस्पर्धा र नवप्रवर्तनमा स्वतन्त्रता दिइनुपर्छ, तर राज्यको भूमिका सामाजिक न्याय र सन्तुलन कायम राख्ने संयन्त्रको रूपमा रहनुपर्छ। शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, रोजगारी, नवप्रवर्तन जस्ता क्षेत्रमा राज्यको रणनीतिक लगानी र नीति हस्तक्षेप आवश्यक छ। हामी न त पूर्ण निजीकरणको पक्षमा छौं, न त कठोर राज्य नियन्त्रणको—बरु उत्तरदायी मिश्रित अर्थनीति हाम्रो मार्गदर्शक हो।
७. नेपालको परराष्ट्र नीतिमा तपाईंहरूको धारणा के हो?
हाम्रो परराष्ट्र नीति नेपाल–केन्द्रित, सन्तुलित र आत्मसम्मानपूर्ण हुनुपर्छ। “सबैसँग मित्रता, कसैसँग दुश्मनी छैन” भन्ने सिद्धान्तमा हामी दृढ छौं। भारत र चीनसँगको सम्बन्ध बराबरीको आधारमा हुनुपर्छ—न झुकेर, न ढुकेर। व्यापार, पारवहन र सीमानाका जस्ता विषयमा हामी स्वाभिमानयुक्त र परस्पर लाभमा आधारित नीति चाहन्छौं। परराष्ट्र नीति नेपालको संप्रभुता, स्वतन्त्रता र दीर्घकालीन हितको संरक्षण गर्ने खालको हुनुपर्छ भन्ने हाम्रो अडान छ।
८. समग्र विकासको खाका के हो? पूर्वाधार र मानवीय विकास कसरी अगाडि बढाउनुहुन्छ?
हाम्रो समग्र विकासको दृष्टिकोण हो—“कागजमा हैन, मापनयोग्य प्रगति।” पूर्वाधार विकास जनताको आवश्यकता र भूगोलअनुसार हुनुपर्छ। दुर्गम क्षेत्रहरूमा सडक, बिजुली, सिंचाइ र सञ्चार जस्ता आधारभूत पूर्वाधारले प्रत्यक्ष रूपमा जनजीवनमा सुधार ल्याउँछ। मानवीय विकासतर्फ हामी गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, र उद्यमशीलता–मुखी सीपमूलक रोजगारीलाई प्राथमिकता दिन्छौं। युवालाई आत्मनिर्भर बनाउन तालिम, प्राविधिक शिक्षा र उद्यम प्रवर्द्धन हाम्रो प्राथमिक एजेन्डा हो।
हामी आदर्शको कुरा गर्छौं, तर व्यवहारिक सोचका साथ अघि बढ्छौं। पुराना पार्टीहरूले जनतालाई थकाएका छन्—अब नयाँ पुस्ताको पालो हो। रास्वपा केवल नारा होइन, नयाँ नेपाल निर्माणतर्फको इमानदार र परिणाममुखी प्रयास हो। हामी आलोचना पनि स्वीकार्छौं, सुधार पनि गर्छौं—यही नै लोकतन्त्रको सुन्दरता हो।
पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय शिक्षा विभागका उप–प्रमुख हुन्।



उज्यालो खबर




