×

गैँडाकोट— सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय, गैँडाकोट-१ ले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार गैँडाकोट-२ स्थित होटल ताज महलमा आयोजित उक्त कार्यक्रम नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूलाई विद्यालय र शैक्षिक प्रणालीसँग परिचित गराउने उद्देश्यले आयोजना गरिएको हो।

विद्यालयका प्राचार्य भरतबाबु कंडेलले सरस्वती निकेतनको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, अनुभवी शिक्षक समूह तथा हालै विद्यालयका विद्यार्थीहरू राष्ट्रिय ‘सिनियर एनसीसी’ छनोटमा परेका उपलब्धिहरूबारे जानकारी गराउनुभयो। उहाँले विद्यार्थीहरूलाई लक्ष्यमा केन्द्रित भई अनुशासित ढंगले अध्ययन गर्न प्रेरणा दिनुभयो।

कार्यक्रमका विशेष अतिथि विरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. गंगाराज पोखरेलले व्यवहारिक शिक्षा, अनुशासन र अनुभवजन्य ज्ञानको महत्त्वबारे चर्चा गर्दै, “शिक्षा केवल किताबी ज्ञान होइन, प्रयोग र अनुभूतिको समन्वय हो,” भन्ने सन्देश दिनुभएको थियो ।

सहायक प्राचार्य लक्ष्मण कंडेलले विद्यालयमा सञ्चालित अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति योजनाहरू, प्रविधिमैत्री शिक्षण प्रणाली र शिक्षकहरूको दक्षताबारे प्रकाश पार्दै आगामी दिनमा अझ प्रभावकारी शिक्षण वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि कमल तिवारी, अभिभावक सरिता हुमागाईं र दीपक विक, पूर्व विद्यार्थी ओमप्रकाश विक, इन्जिनियर यमलाल कंडेल लगायतले विद्यार्थीहरूलाई आत्मविश्वासी बन्‍न, अनुशासनमा रही लक्ष्य निर्धारण गर्न र उज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन प्रेरणादायी सन्देश दिएका थिए।

कार्यक्रममा कक्षा ११ की छात्रा हिल्सन पौडेलले विद्यालयमा पठनपाठनको वातावरण, शिक्षकहरूको सहयोगी व्यवहार तथा विद्यार्थीहरूबीचको सहकार्यका बारेमा आफ्ना अनुभव साझा गरिन्।

कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली विषयका प्रमुख शिक्षक राजेन्द्रप्रसाद रेग्मीले गर्नुभएको थियो भने प्लस टु कोअर्डिनेटर घनश्याम सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।विद्यालयको यो अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै उनीहरूलाई शैक्षिक यात्राको दिशातर्फ सुदृढ बनाउने विश्वास अभिव्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया