×

नवलपुर – गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बजेट कार्यान्वयन, पारदर्शिता र जनसहभागितामा उल्लेखनीय सफलता हासिल गरेको छ। कुल १ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा करिब ९३ करोड रुपैयाँ खर्च गरिएको छ, जुन कुल विनियोजित बजेटको करिब ८६ प्रतिशत हो।

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार चालुतर्फको ६१ प्रतिशत बजेटमध्ये ८९.८३ प्रतिशत र ३९ प्रतिशत पुंजीगत बजेटमध्ये ८२ प्रतिशत खर्च गरिएको छ। यो बजेट कार्यान्वयनको अनुपातले नगरपालिकाको कार्यदक्षता र परिणाममुखी नेतृत्वको स्पष्ट संकेत गर्छ।

गैँडाकोटले आन्तरिक आय संकलनतर्फ पनि सशक्त प्रगति गरेको छ। नदीजन्य पदार्थबाट मात्र ७ करोड रुपैयाँ आर्जन गरिएको छ, जुन आगामी वर्षहरूमा अझ बढाउने लक्ष्य लिइएको छ। आन्तरिक आय वृद्धिमार्फत स्थानीय स्वावलम्बनको आधार बलियो बनाउने दिशा नगरपालिकाले लिएको छ।

प्रमुख प्रशासकीय अधिकृत खनालको दूरदृष्टि, सक्रिय अनुगमन, प्रशासनिक चुस्ती र कार्यप्रति प्रतिबद्धताको कारण नगरपालिकाले योजना कार्यान्वयनमा तीव्र गति लिनुका साथै पारदर्शिता, संस्थागत समन्वय र जनसहभागितामा गुणात्मक सुधार ल्याउन सफल भएको छ।

खर्च विवरण समयमै सार्वजनिक गर्ने, योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने र सरोकारवालाको साथ र सहभागिता सुनिश्चित गर्ने अभ्यासले गैँडाकोटलाई उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गराएको छ।

नगरपालिकाले विकास साझेदार, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजको सक्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र समन्वयको अपेक्षा राखेको छ।

गैँडाकोटको यो अभ्यास अन्य नगरपालिका र गाउँपालिकाका लागि सिकाइको स्रोत बन्ने विश्वास लिइएको छ। समयमै योजना कार्यान्वयन र पारदर्शी प्रशासनमार्फत जनताको विश्वास जित्ने स्थानीय तहको भूमिका यस नगरपालिकाले मजबुत रूपमा निर्वाह गरेको छ।

तपाईको प्रतिक्रिया