×

गैँडाकोट-  सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सफोर्ड कलेजले इलाका प्रहरी कार्यालय गैँडाकोटलाई ५० हजार मुल्य बराबरको फलामे बेड हस्तान्तरण गरेको छ। कलेजले प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरूको भौतिक सुविधा वृद्धि तथा विश्राम व्यवस्थामा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग गरेको हो।

आज एक समारोहका बीच कलेजका प्राचार्य इ. हरि भण्डारीले इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक कमला नरालालाई औपचारिक रूपमा फलामे बेडहरू हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा कलेजका अध्यक्ष नारायण प्रसाद भण्डारी, सहायक प्राचार्य कृष्णहरी पौडेल, व्यवस्थापन संकाय प्रमुख हरि प्रसाद थपलिया, एकाउन्ट सेक्रेटरी दिपक पराजुलीलगायत कलेज परिवारका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्राचार्य इ. हरि भण्डारीले भन्नुभयो, “सुरक्षाकर्मीहरू समाजका शान्ति र सुरक्षाका पहरेदार हुन्। उनीहरूका लागि सामान्य सुविधासमेत व्यवस्थित गर्नु हाम्रो साझा जिम्मेवारी हो।  सानो योगदानले उनीहरूलाई थोरै भए पनि राहत मिलोस् भन्ने हाम्रो चाहना हो।”

प्रहरी निरीक्षक कमला नरालाले अक्सफोर्ड कलेजको सहयोगप्रति आभार प्रकट गर्दै भनिन्, “सामाजिक उत्तरदायित्वप्रति यस्तो सकारात्मक पहल अत्यन्त प्रेरणादायी छ। कलेजको सहयोगले हाम्रो कार्यक्षेत्रभित्र रहेका सुरक्षाकर्मीहरूको विश्राम व्यवस्थामा सुधार हुनेछ। हामी यस्ता सहयोगी हातहरूप्रति सदैव कृतज्ञ छौं।”

अक्सफोर्ड कलेजले यसअघि पनि विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। कलेज प्रशासनका अनुसार, आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै यस्ता सहयोगलाई निरन्तरता दिइनेछ।

तपाईको प्रतिक्रिया