गैंडाकोट- हालको अविरल वर्षाका कारण नारायणी नदीको जलाधार क्षेत्रमा पानीको बहाव अत्यधिक बढेपछि गैंडाकोट नगरपालिकाले सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरप्रमुख मदनभक्त अधिकारीद्वारा हस्ताक्षरित औपचारिक सूचनामा भनिएको छ कि नदी किनार वरपर बसोबास गर्ने नागरिकहरू, विशेषतः नदीमा माछा मार्ने, नुहाउने, गोठालो गर्ने, वा खेलकुदमा संलग्न रहने व्यक्तिहरूले अत्यन्त सावधानी अपनाउनुपर्नेछ। साथै, बालबालिकालाई नदी किनारको आसपास जान नदिनु हुन अभिभावकहरूलाई विशेष आग्रह गरिएको छ।
नगरपालिकाले सम्भावित बाढीबाट हुन सक्ने जनधनको क्षति न्यून पार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, वडा कार्यालयहरू लगायतका सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिएको छ। बाढी, पहिरो वा अन्य आकस्मिक घटनाको अवस्था उत्पन्न भएमा तुरुन्तै समन्वय गर्न सकिने आपतकालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छ।
गैंडाकोट नगरपालिकाले सबै नगरवासीलाई सजग र सुरक्षित रहन, तथा आपतकालीन अवस्थामा सम्बन्धित निकायहरूसँग तत्काल सम्पर्क गर्न आग्रह गर्दै, विपद् व्यवस्थापनमा सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ।
आपतकालीन सम्पर्क नम्बरहरूः
-
गैंडाकोट नगर अस्पताल: ९८४४१७१८६७
-
एम्बुलेन्स सेवा: ९८६३२७२७२४ (अमरपुरी), ९८५६०६४३८८ (नगर अस्पताल)
-
इलाका प्रहरी कार्यालय, गैंडाकोट: ९८५७०९०४८०
-
नगर प्रहरी, गैंडाकोट: ९७६८३२७९८७
-
नगरपालिका सूचना अधिकारी: ९८५५०८१६१४



उज्यालो खबर




