×

चितवन-  खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटको ८६.५० प्रतिशत रकम खर्च गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार कुल विनियोजन गरिएको १ अर्ब ११ करोड ८४ लाख ८७ हजार १२९ रुपैयाँमध्ये ९६ करोड ७५ लाख ३० हजार २९० रुपैयाँ खर्च भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार चालु तर्फ ४९ करोड ३५ लाख ९५ हजार ८ रुपैयाँ विनियोजन गरिएकोमा ४३ करोड ७२ लाख २१ हजार ९८७ रुपैयाँ खर्च भएको छ, जुन ८८.४० प्रतिशत हो।

त्यस्तै, पुँजीगततर्फ ६२ करोड ३८ लाख ९२ हजार १२१ रुपैयाँ विनियोजन गरिएमध्ये ५३ करोड ३ लाख ८ हजार ३०३ रुपैयाँ खर्च भएको छ, जुन ८५ प्रतिशत खर्च हो।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाको नेतृत्वमा नगरपालिकाले बजेट कार्यान्वयन मात्र नभई पारदर्शिता, संस्थागत समन्वय र जनसहभागितामा समेत उल्लेखनीय सुधार ल्याएको छ। उनको दूरदृष्टि, सक्रिय अनुगमन, प्रशासनिक चुस्ती र कार्यप्रति प्रतिबद्धता नगरपालिकाको समग्र प्रगतिमा स्पष्ट रूपमा देखिएको छ।

यसरी समयमै योजना कार्यान्वयन, बजेट उपयोग र पारदर्शी विवरण सार्वजनिक गर्ने अभ्यासले खैरहनीलाई उदाहरणीय स्थानीय तहका रूपमा उभ्याएको छ। अन्य नगर तथा गाउँपालिकाहरूले समेत खैरहनीको यो अभ्यासबाट सिक्नुपर्ने आवश्यकता देखिएको छ।

नगरपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयनमा विकास साझेदार, उपभोक्ता समिति, संघसंस्था, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजको सक्रिय सहकार्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहकार्य र समन्वयको अपेक्षा राखेको छ।

तपाईको प्रतिक्रिया