चितवन — जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय बजेट खर्च गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार यो वर्ष पालिकाले कुल ८५.५७ प्रतिशत बजेट खर्च गर्दा पुँजिगततर्फ मात्रै ८७.२९ प्रतिशत खर्च भएको छ। चालुतर्फको खर्च पनि ८४.२७ प्रतिशत पुगेको छ।
खर्च विवरण सार्वजनिक गर्दै बस्नेतले चालु खर्चभन्दा बढी पुँजिगत खर्च हुनु सकारात्मक संकेत भएको बताउनुभयो। उहाँले यस वर्ष कुनै पनि योजनाको म्याद थप गर्नु नपरेको, भुक्तानीका लागि कुनै दायित्व नसरेको उल्लेख गर्दै योजना कार्यान्वयनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
गत वर्ष इच्छाकामनाले पुँजिगततर्फ ८३ प्रतिशत र चालुतर्फ ८७ प्रतिशत खर्च गरेको थियो। यस वर्ष सबैभन्दा ठूलो योजना ६ करोड ७१ लाख रुपैयाँको सफलतापूर्वक सम्पन्न भएको पालिकाले जनाएको छ।
यता, आज आर्थिक वर्षको अन्तिम दिन भएको हुँदा राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द हुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने सरकारी खाता बन्द गरिने मलेनिकाकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिनुभयो।
उहाँका अनुसार आज नै चालु आर्थिक वर्ष २०८१/८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने अन्तिम दिन हो। आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुनेछन्।
अर्यालका अनुसार विगतका वर्षहरूमा असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र जारी गरिँदै आए पनि यस वर्ष ऐन तथा कार्यविधिमा रहेको बाध्यकारी व्यवस्थाका कारण त्यसो नगरेको बताइएको छ।




















उज्यालो खबर









