नवलपरासी (पश्चिम)- लगातारको वर्षासँगै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलानजिक सडक भासिएपछि बर्दघाट–दुम्किबास सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक भासिएको स्थानमा लु १ क ५८२७ नम्बरको ट्रक फसेपछि मंगलबार रातिदेखि नै यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, सडक अवरुद्ध भएपछि पूर्वतर्फ जान चाहने सवारी साधनहरू बर्दघाटको टिसिएन चोकमा र पश्चिमतर्फ जान लागेका सवारी साधनहरू दुम्किबासतर्फ रोकिएका छन्।
सडक खुलाउने प्रयास भइरहे पनि वर्षा नरोकिएकाले केही समय लाग्ने डीएसपी पन्तले जानकारी दिए।
खुर्सानी खोलामा यसअघि पनि पटक–पटक सडक भासिँदा आवागमन प्रभावित हुँदै आएको थियो। नारायणगढ–बुटवल सडक विस्तारको काम जारी रहे पनि दाउन्ने खण्डअन्तर्गतको १४ किलोमिटर सडक निर्माण ढिलाइ हुँदै आएकोले बारम्बार समस्या दोहोरिने गरेको छ।
स्थानीयवासी तथा सवारी प्रयोगकर्ताले निर्माण कार्यमा तीव्रता दिन माग गर्दै आएका छन्।





















उज्यालो खबर










