×

काठमाडौं । सरकारले नेपाल चिकित्सक संघसँग वार्ता गरी सहमति जुटाएपछि चिकित्सकहरूले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्।

मंगलबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया, उद्योग मन्त्री दामोदर भण्डारी र संघका पदाधिकारीहरूबीच सहमति बनेको हो।

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सोमबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएको थियो।

संघले उपभोक्ता ऐन र मुलुकी फौजदारी ऐनमा संशोधन गर्नुपर्ने मागसहित आन्दोलन थालेको थियो।

हालै उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको भन्दै विभिन्न अस्पताल र चिकित्सकहरूलाई बिरामी पक्षलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो।
फैसला अनुसार ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र त्यहाँका चिकित्सकलाई १ करोड ४५ लाख, र ग्रान्डी सिटी अस्पताल तथा संलग्न चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो।

यीनै फैसलाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए, जुन सहमतिपछि अहिले फिर्ता लिएको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया