×

 चरौंदी — धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित त्रिशूली नदी किनारमा मंगलबार बिहान एक शवको अन्त्येष्टि हुँदै गर्दा चिता नै बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’का अनुसार बिहान ५ बजे आफन्तको निधन भएपछि शवलाई त्रिशूली किनारमा दाहसंस्कारका लागि लगिएको थियो। बिहान करिब साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढीको बहाव बढेपछि जलिरहेको शवको केही अवशेषसहित चिता नै बगाएको हो।

“शव त लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो,” अध्यक्ष थपलियाले भने, “त्यही बेला बाढी आएर बगायो। हामी सबै सुरक्षित छौं।”

वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले बाढीले चिता बगाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। घटना झनै पीडादायक बनेको छ।

गाउँपालिका अध्यक्ष थपलियाले यसअघि नै नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै पूर्व सूचना जारी गरिएको जानकारी दिए। “हामी सचेत भएर अन्त्येष्टि स्थल पुगेका थियौं,” उनले भने, “तर बाढी यति छिटो र एक्कासि आयो कि चिता जोगाउन सकिएन।”

उक्त बाढीको मूल कारण चीनतर्फबाट आएको आकस्मिक पानीको बहाव मानिएको छ। यिनै कारण सोमबार राति रसुवामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन्, जसमा ९ जना नेपाली, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्।

बाढीले रसुवागढी जलविद्युत् आयोजना, भन्सार भवनलगायत पूर्वाधारमा क्षति पुर्याउनुका साथै सुख्खा बन्दरगाहमा राखिएका ७ वटा विद्युतीय सवारीसाधनसमेत बगाएको छ। यही बाढीको असर त्रिशूली नदीसम्म आइपुगेको हो।

प्राकृतिक प्रकोपको यस्तो अप्रत्याशित घडीमा मृत आत्माप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया