×

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँगको गठबन्धनमा तत्काल कुनै समस्या नरहेको दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले दुई दलबीचको सहकार्य दीर्घकालीन हुने विश्वास व्यक्त गरेका हुन् ।

‘एमालेसँगको गठबन्धन जुन छ, त्यसमा अहिलेसम्म मात्रै होइन, भोलिसम्म पनि मलाई विश्वास छ,’ सभापति देउवाले भने, ‘यो गठबन्धन पूरा कार्यकालसम्म रहन्छ भन्ने मेरो दृढ विश्वास छ ।’

उनले दुई ठूला दलबीच केही असमझदारी देखिनु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई अनावश्यक रुपमा ठूलो बनाउन नहुने बताए । ‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनु कुनै अनौठो कुरा होइन, तर हामी छलफल र आपसी सहमतिमार्फत ती समस्याको समाधान गर्दै जान्छौं,’ देउवाले स्पष्ट पारे ।

उनका अनुसार गठबन्धनभित्रका गतिविधि पनि सल्लाह र समझदारीमै अगाडि बढिरहेका छन् । ‘केही कुरा आए पनि हामी त्यसलाई समस्याका रूपमा अघि आउन दिने छैनौं,’ देउवाले भने, ‘गठबन्धन मजबुत रूपमा अघि बढ्नेछ ।’

सभापति देउवाको यो भनाइले हालैका केही राजनीतिक घटनाक्रम र मतभेदलाई लिएर उठेका आशंकाहरूको पनि जवाफ दिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया