×

चितवन – विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण तथा पत्रकारिताको मर्यादा कायम गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

महासंघले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ‘प्रेस काउन्सिल ऐन, २०४८’ को दफा ७ को खण्ड (ख) अनुसार प्राप्त अधिकार प्रयोग गरी पत्रकार आचारसंहिता विपरीत हुने कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पुनः स्मरण गराइएको छ। पत्रकारिताको व्यावसायिक आचरण, मर्यादा र उत्तरदायित्वअनुसार राष्ट्र र समाजप्रति समर्पित रहनुपर्ने जिम्मेवारी स्मरण गराउँदै महासंघले सम्पूर्ण पत्रकारलाई आह्वान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “चितवन शाखाले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीहरुलाई आग्रह गर्दछ।” साथै पत्रकार र सञ्चारमाध्यमले प्रेस स्वतन्त्रता तथा पत्रकारिताको कर्तव्य र सीमाभित्र रहेर मात्र कार्य गर्नुपर्नेमा जोड दिइएको छ।

हालै जिल्लामा आचारसंहिताविपरीतका गतिविधिहरूबारे मौखिक गुनासा आएका भन्दै महासंघले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित पत्रकार र संस्थाहरूलाई सचेत गराएको छ। यस्तै, कुनै पनि गुनासा वा उजुरी भएमा महासंघको आधिकारिक इमेलमा जानकारी गराउन समेत आग्रह गरिएको छ । विज्ञप्तिमा महासंघका सचिव राजेश घिमिरेले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया