चितवन – लिटिल फ्लावर स्कूल, नारायणगढले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४ जीपीए ल्याउन सफल पाँच जना विद्यार्थी र उनका अभिभावकहरूलाई विशेष सम्मान गरेको छ।
४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरू सम्वन्ध पौडेल, आदर्श सापकोटा, महोदय भण्डारी, निरज खड्का र प्रकृति सापकोटा तथा तिनका अभिभावकहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो।
सम्मान समारोहमा विद्यालयका प्रिन्सिपल फादर मन्जुस, भाइस प्रिन्सिपल फादर ज्याकेव, फादर जोजिनलगायत विद्यालय प्रशासनको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयका स्टाफ सेक्रेटरी टी.एन. भूसालले कार्यक्रमबारे जानकारी दिनुभयो।
विद्यालयले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हात पार्दै १६७ जना परीक्षार्थीमध्ये १२१ जनाले ए प्लस, ४१ जनाले ए ग्रेड र ५ जनाले बी प्लस ग्रेड ल्याएका छन्। यसैसाथ विद्यालयले संस्थागत विद्यालयतर्फबाट जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ।
प्रिन्सिपल फादर मन्जुसले विद्यार्थीहरूको उत्कृष्ट नतिजा शिक्षक, विद्यार्थी र अभिभावक सबैको मिलेर गरिएको मेहनतको फल भएको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक समर्पण र अभिभावकको साथले यस्तो सफलता सम्भव भएको धारणा राख्नुभयो।
विद्यालयले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भोलि बिहान ११ बजेबाट प्रवेश परीक्षा सञ्चालन गर्दैछ । लिटिल फ्लावर स्कूल, चितवनको एक प्रतिष्ठित संस्थागत विद्यालयको रूपमा स्थापित छ, जसले हरेक वर्ष उत्कृष्ट नतिजा र अनुशासित शिक्षण प्रणालीमार्फत अग्रस्थानमा आफूलाई स्थापित गर्दै आएको छ।




उज्यालो खबर




