काठमाडौं –चालु आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ऐतिहासिक रुपमा वृद्धि भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आइतबारसम्म कुल ७ लाख ७८ हजार ३७८ जना नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्, जुन हालसम्मकै उच्च वार्षिक संख्या हो।
गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार ३९७ जनाले श्रम स्वीकृति लिएका थिए भने २०७९/८० मा ७ लाख ७१ हजारको श्रम स्वीकृति भएको थियो।
वैदेशिक रोजगार विभागका निर्देशक उपेन्द्रराज पौड्यालका अनुसार श्रम स्वीकृतिमा आएको यो वृद्धि नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूर्त रूप दिने प्रयासको एक हिस्सा हो। उनले विभागले प्रविधिमैत्री र छरितो सेवा प्रवाहलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
पौड्यालका अनुसार विभागमा अब कानुनको रित पुगेको अवस्थामा निवेदन दिएकै दिन श्रम स्वीकृति दिने कार्य प्रभावकारी रूपमा अघि बढिरहेको छ। म्यानपावर कम्पनीहरूले पूर्व श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिएपछि, कार्यालय समयभित्रै प्रक्रिया सम्पन्न हुने व्यवस्था मिलाइएको छ।
संस्थागत रोजगारीका लागि हाल १११ देश खुला गरिएकोमा १०३ देशमा सेवा प्रवाह भइरहेको छ भने व्यक्तिगत श्रम स्वीकृतिका लागि १८५ देश खुला गरिएकामा १७४ देशमा श्रम स्वीकृति प्रदान भइसकेको छ।
विभागले श्रम स्वीकृति सेवा सुधारसँगै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणलाई पनि उच्च प्राथमिकतामा राखेको छ। तर, हाल व्यक्तिगत ठगीका उजुरी अस्वाभाविक रूपमा बढिरहेका छन्। जनशक्तिको अभाव र थुनुवालाई न्यायालय लैजान सवारीसाधनको अभावले समस्या थपिएको विभागले जनाएको छ।
यस समस्यालाई सम्बोधन गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी डेडिकेटेड सवारी साधनको व्यवस्था मिलाइएको छ। उजुरीको प्रभावकारी छानबिन गर्न सबै राजपत्रांकित अधिकृतहरूलाई अनुसन्धान अधिकृत तोकिएको छ।
वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि विभागले विशेष टोली गठन गरी परिचालन गरेको छ। साथै, विभाग परिसरलाई बिचौलिया निषेधित क्षेत्र घोषणा गरिएको छ। गुनासो समाधान, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन निरन्तर पहल भइरहेको पौड्यालले जानकारी दिए।
इजरायल र ईपीएस कोरिया शाखाको कार्यसम्पादनमा निरन्तर निगरानी राखिएको छ। सेवा परिणाम प्रत्यक्ष देखिने किसिमले काम गर्न निर्देशन दिइएको छ। विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पदभार ग्रहणसँगै विभागलाई आधुनिक सरकारी कार्यालयको नमुना बनाउने प्रतिबद्धता जनाएका थिए। निर्देशक पौड्यालका अनुसार त्यही प्रतिबद्धताको स्पिरिटमा काम अगाडि बढिरहेको छ।



उज्यालो खबर




