नवलपुर — नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, दुम्किबास क्षेत्रको विनयी खोलामा अस्थायी डाइभर्सन बगाएपछि सवारी आवागमनका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुँदै आएको विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पनि पानीको बहाव तीव्र बनेपछि यातायात अवरुद्ध भएको हो।
खरङ्गे खोलामा पानीको बहाव अत्यधिक भएपछि उक्त स्थानबाट सवारी साधन चल्न नसक्ने अवस्था आएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेको र सुरक्षाका लागि सवारी आवागमन रोकिनु परेको हो।
पछिल्लो १५ दिनदेखि यो सडक खण्डमा बारम्बार अवरोध हुँदै आएको छ। अस्थायी डाइभर्सनहरू वर्षातका कारण बारम्बार बग्ने समस्या बढिरहेको छ।सडक अवरुद्ध हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग नहुँदा गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने लामो दुरीका सवारीसाधनहरू बाटोमै रोकिएका छन्।



उज्यालो खबर




