गैडाकोट –“धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ गैंडाकोट नगरपालिकामा भव्य रूपमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदैछ।नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा असार १५ गते बिहान ८:०० बजे, गैँडाकोट–११ स्थित देविथान मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो।
कार्यक्रमको मुख्य आकर्षण गण्डकी प्रदेशमै पहिलोपटक मेशिनको प्रयोगबाट गरिने धान रोपाइँ हुनेछ। साथै, पञ्चेबाजा, डोरी तान्ने, हिले दौड लगायतका परम्परागत खेलकुद र दही–चिउरा खाजाको व्यवस्था, तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि रहनेछन्।
गैंडाकोट नगरपालिकाले कृषि क्षेत्रमा उल्लेख्य प्रगति गर्दै धान र मकै उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भएको बताउँदै, नगरपालिकाका कृषि शाखा प्रमुख राजु प्रसाद शर्माले भने:“गैँडाकोटको अधिकांश भू–भागमा वर्षे बाली अन्तर्गत धान र मकै खेती सफलतापूर्वक हुँदै आएको छ। उत्पादन र उपभोगको हिसाबले हेर्दा गैंडाकोट धान र मकैमा आत्मनिर्भर बन्दै गएको छ, र यो राष्ट्रिय धान दिवस त्यही उपलब्धिको उत्सव पनि हो।”
कार्यक्रमको आयोजना गैंडाकोट नगरपालिकाको कार्यालयले गरेको हो भने, समन्वयमा धान जोन सञ्चालन समन्वय समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपरासी (पूर्व) रहेका छन्।नगरपालिकाले सम्पूर्ण सरोकारवालाहरूलाई यस उत्सवमा सहभागी भई, कृषि, संस्कृति र आत्मनिर्भरताको यो गौरवपूर्ण क्षणलाई थप भव्यता दिन आग्रह गरेको छ।



उज्यालो खबर




