गैँडाकोट– छोटो समयमै समाजसेवामा सक्रियता देखाउँदै लायन्स क्लब अफ बागिश्वरी डायनामिकले क्यान्सर पीडित बालिकाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले रू. ५०,००० (पचास हजार रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गरेको छ।क्लबले गैँडाकोट–५ निवासी क्यान्सर पीडित बालिका सचिना घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै समाजसेवामा आफ्नो प्रतिवद्धता प्रस्तुत गरेको हो।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आरका गर्भनर एमजेएफ लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिमा लायन वर्ष २०८२/८३ (२५/२६) का पहिलो निर्वाचित गर्भनर एमजेएफ लायन प्रभाकर पण्डित, कालिका नमुना मावि गैँडाकोट–८ का प्रधानाध्यापक होमनाथ शर्मा र क्लस्टर ६ का प्रमुख देशबन्धु सिग्देल रहनुभएको थियो।
कार्यक्रमका संयोजकसमेत रहेका कोषाध्यक्ष लायन गोविन्द चालिसेले स्वागत मन्तव्य राख्दै क्लबले क्यान्सर पीडित बालबालिकाको उपचारमा सघाउने उद्देश्यले स्थायी अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो।प्रमुख अतिथि लायन दिनानाथ न्यौपानेले क्लबको सामाजिक उत्तरदायित्वप्रतिको योगदानको खुलेर प्रशंसा गर्नुहुँदै, उक्त सहयोग राशिको चेक बालिकाकी भाउजू ममता घर्ती मगरलाई हस्तान्तरण गर्नुभयो।
लायन्स क्लब अफ बागिश्वरी डायनामिकका अध्यक्ष लायन रोशन मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन कमल तिवारी, हालैसम्मका अध्यक्ष लायन तुलसीप्रसाद सापकोटा, कोषाध्यक्ष लायन गोविन्द चालिसे, सचिव लायन कृष्णप्रसाद खरेल, लायन रामकृष्ण कोइराला, लायन हिमालदेव पङ्गेनी, लायन बलराम रानाभाट, लायन अर्जुन पौडेल, लायन अनिता शर्मा गौतम लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन अध्यक्ष लायन रोशन मल्लले धन्यवाद मन्तव्य दिँदै गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण क्लबका सचिव लायन कृष्णप्रसाद खरेलले गर्नुभएको थियो।



उज्यालो खबर




