गैँडाकोट- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट नगरपालिका–१ स्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा करिब १०० जना अभिभावकको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयले हालै प्राप्त गरेको बेष्ट सेकेन्डरी स्कुल अवार्ड, एनसीसी सिनियर तालिम, कक्षा ११ मा पढाइ हुने विषयहरू, गुणस्तरीय शिक्षण पद्धति र दक्ष शिक्षकहरूको उपस्थितिबारे अभिभावकहरूलाई जानकारी गराइएको थियो।
विद्यालयका प्राचार्य भरतबाबु कँडेलले देशभरका उत्कृष्ट विद्यालयमध्येबाट सरस्वती निकेतन छनोट हुनु गर्वको विषय भएको उल्लेख गर्दै भन्नुभयो, “यो अवार्ड अभिभावकहरूको निरन्तर विश्वास र साथकै उपज हो। हामीलाई धेरै विद्यार्थी होइन, थोरै तर गुणस्तरीय विद्यार्थी तयार पार्ने लक्ष्य छ।” उनले गण्डकी प्रदेशबाट एनसीसी सिनियर तालिमका लागि छानिएका दुई विद्यालयमध्ये सरस्वती निकेतन एक भएको जानकारी गराउँदै, भदौ पहिलो साताबाट तालिम सुरु हुने बताउनुभयो।
कार्यक्रममा गैँडाकोट वडा नं. १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले विद्यालयले B.L.E., S.E.E. र कक्षा ११–१२ मा लगातार उत्कृष्ट नतिजा दिँदै आएको बताउनुभयो। “यहाँका शिक्षकहरूले विद्यार्थीलाई आफ्नै सन्तानसरह माया दिनुभएको छ,” रेग्मीले भन्नुभयो, “स्थानीय सरकारले अनुगमन गर्दा शिक्षाको गुणस्तर, पूर्वाधार, वातावरणीय र बालमैत्रीपनको उच्च स्तर देखिएको छ। यस्तो छवि कायम राख्दै अझ उचाइमा पुर्याउनु आवश्यक छ।”
शिक्षक लक्ष्मण कँडेलले विद्यालयमा ६५ जना दक्ष शिक्षकहरूको टिम रहेको जनाउँदै भन्नुभयो, “हामी बालबालिकाको भविष्य निर्माणका लागि रातदिन खटिरहेका छौं। अहिलेबाट डिजिटल कक्षाको शुरुआत गरेका छौं, र बिस्तारै सबै कक्षामा प्रविधिमैत्री शिक्षण लागू गर्दैछौं।” उहाँले टिचर पाइलट कार्यक्रम पनि विद्यालयमा सुरु भइसकेको र विद्यार्थीले यसको फाइदा उठाइरहेका उल्लेख गर्नुभयो।
कार्यक्रममा खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले विद्यालयको खेलकुद र व्यवस्थापन दुवै क्षेत्रमा प्रभावशाली उपस्थिति रहेको बताउनुभयो। पूर्व शिक्षक तथा समाजसेवी गणेश अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सोच राख्न आवश्यक रहेको बताउँदै विद्यालयको हालको उपलब्धिहरू गर्व गर्न लायक रहेको बताउनुभयो।
शिक्षक कमल तिवारीले तीन दशकभन्दा बढी समय विद्यालयसँग जोडिएको अनुभव साझा गर्दै विद्यालयले अभिभावक, विद्यार्थी र व्यवस्थापनको संयुक्त प्रयासबाट आजको सफलता हासिल गरेको धारणा राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष चोक्षादेवी देवकोटा कँडेल, शिक्षक, अभिभावक, सामाजिक तथा धार्मिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष कमलापति शर्माको अध्यक्षता र सहायक प्रधानाध्यापक लक्ष्मण कँडेलको सहजीकरणमा सम्पन्न भएको हो।
वि.सं. २०५० मा स्थापना भएको सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्म बालमैत्री वातावरणमा व्यवहारिक र अनुशासित शिक्षण प्रणालीमार्फत अध्ययन–अध्यापन गराउँदै आइरहेको छ।
शिक्षा क्षेत्रमा क्रियाशील संस्था फोकस नेपालले देशभरिका उत्कृष्ट शैक्षिक संस्थालाई छनोट गरी हरेक वर्ष प्रदान गर्ने बेष्ट सेकेन्डरी स्कुल अवार्डबाट यसवर्ष गैँडाकोटस्थित सरस्वती निकेतन सम्मानित भएको हो।




उज्यालो खबर




