×

चितवन — खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३ करोड ८५ लाख १३ हजार ३५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख कविता उप्रेतीले मंगलबार नगरसभामा बजेट प्रस्तुत गर्दै आर्थिक अनुशासन, उत्पादनमा आधारित अनुदान र सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। प्रस्तुत बजेटमध्ये चालू खर्चतर्फ ५० करोड १ लाख ४८ हजार (४८.१६ प्रतिशत) र पूँजीगत खर्चतर्फ ५३ करोड ८३ लाख ६५ हजार (५१.८४ प्रतिशत) विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक स्रोतबाट १९ करोड ४७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर, बैशाख मसान्तसम्म जम्मा १३ करोड २ लाख ४७ हजार मात्र संकलन हुन सकेको नगरपालिकाले जनाएको छ। लक्ष्यको ६६.९० प्रतिशत मात्र राजस्व संकलन भएको भए पनि बाँकी महिना अर्थात जेठ र असारमा लक्ष्य अनुसारको राजस्व उठ्ने अपेक्षा गरिएको छ।

आगामी वर्षको लागि नगरपालिकाले विभिन्न स्रोतबाट आय सङ्कलन गर्ने योजना सार्वजनिक गरेको छ। आन्तरिक आम्दानी १९ करोड ८० लाख ५० हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २६ करोड ४४ लाख, समानीकरण अनुदान १५ करोड ५४ लाख, राजस्व बाँडफाँड १२ करोड ३८ लाख ५३ हजार, संरक्षित वन रोयल्टी ७८ लाख ४० हजार, विशेष अनुदान ५ करोड १० लाख र अन्य विविध शीर्षकबाट रकम प्राप्त गर्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको अनुमानित मौज्दात रकमसमेत जोडेर कुल बजेट १ अर्ब ३ करोड ८५ लाख पुगेको हो।

नगरपालिकाले प्रशासन, पूर्वाधार, वडास्तरीय योजना, सामाजिक क्षेत्रलगायतका शीर्षकमा बजेट छुट्याएको छ। आगामी वर्षको बजेटबाट नगर प्रशासनको सञ्चालनमा १२ करोड ३० लाख, नगरस्तरीय पूर्वाधार तथा कार्यक्रमका लागि ६ करोड ७१ लाख, वडास्तरमा १७ करोड २६ लाख, विषयगत शाखाहरूमा १४ करोड ५ लाख र अन्य कोष र समपूरक कार्यक्रमहरूमा गरी थप रकम विनियोजन गरिएको छ।

बजेटले सामाजिक विकासमा ३५ करोड ८९ लाख, पूर्वाधार विकासमा ३८ करोड १७ लाख ५८ हजार, आर्थिक विकासमा १२ करोड ६४ लाख, सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ४२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १२ करोड ३३ लाख खर्च गर्ने लक्ष्य राखिएको छ।

नगरपालिकाले सबै १३ वडाका लागि समानरूपमा ६६ लाख ३८ हजारका दरले ८ करोड ६३ लाख रकम विनियोजन गरेको छ। बाँकी ८ करोड ६३ लाख रकम जनसंख्या, भौगोलिक अवस्था, सामाजिक पिछडोपन र वडाले राजस्वमा पुर्‍याएको योगदानको आधारमा बाँडफाँड गरिएको छ। यस्तो आधारमा सबैभन्दा धेरै १ करोड ६३ लाख ३४ हजार र सबैभन्दा कम १ करोड १२ लाख बजेट पाउने व्यवस्था गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाका अनुसार चालु आवको जेठ मसान्तसम्म कुल ३५ करोड १२ लाख ४० हजार चालु खर्च (६७.७३ प्रतिशत) र ३७ करोड ३२ हजार पूँजीगत खर्च (६२.१९ प्रतिशत) भएको छ। असार मसान्तसम्ममा खर्चको प्रतिशत अझै बढ्ने विश्वास गरिएको छ।

नगर प्रमुख शशी खनियाँले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादनका आधारमा अनुदान दिने नीति अख्तियार गरिएको स्पष्ट गरे। उनले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्दै सीप र ज्ञानका माध्यमबाट व्यवसायिक कृषक बनाउने कार्यक्रम अघि सारिएको जानकारी दिए। उनले भने, “अब विदेशमा सिकेको सीप र ज्ञान, स्वदेशमै लगानी गरेर देश बनाउने अभियानमा हामी जुट्छौं।”

नगरपालिकाले स्थानीय पूर्वाधार, सामाजिक न्याय र समावेशी विकासमा समान अवसर सुनिश्चित गर्नेगरी बजेट निर्माण गरिएको दाबी गरेको छ। आर्थिक अनुशासन, स्थानीय स्रोतको अधिकतम उपयोग र जनउत्तरदायी कार्यक्रम कार्यान्वयनमार्फत खैरहनीलाई आर्थिक रूपले आत्मनिर्भर बनाउनुपर्ने नगरपालिकाको दृष्टिकोण रहेको छ।

तपाईको प्रतिक्रिया