×

न्युयोर्क-  चितवनका युवा व्यवसायी तथा तत्कालीन उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्तले अमेरिका भ्रमणको क्रममा कोर्निङ क्षेत्रीय उद्योग वाणिज्य संघ र टोम्प्किन्स काउन्टी उद्योग वाणिज्य संघ का अध्यक्षहरूसँग औपचारिक भेटघाट तथा व्यवसायिक अन्तरक्रिया गरेका छन्।

भेटमा चितवन र अमेरिकाका वाणिज्य संघबीच आपसी सहकार्य विस्तार गर्दै अन्तर्राष्ट्रिय व्यवसाय प्रवर्द्धनका सम्भावनाहरूमा विशेष छलफल भएको थियो।उक्त भेटघाट र छलफलमा पन्तका जीवनसंगिनी प्रियांका घिमिरे तथा पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास घिमिरे पनि सहभागी हुनुहुन्थ्यो। डा. घिमिरे हाल अमेरिका निवासी भई त्यहीं कार्यरत हुनुहुन्छ।

सन् १९१४ मा स्थापना भएको कोर्निङ क्षेत्रीय उद्योग वाणिज्य संघ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक तालिम, प्रदर्शनी तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। चितवन उद्योग वाणिज्य संघका अध्यक्षद्वारा पठाइएको औपचारिक पत्र, नेपाली हस्तकलाबाट बनेको पश्मिनाको शाल, ढाकाको खादा र चितवन भ्रमण पुस्तिका सो संघका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो।

भविष्यमा चितवन र कोर्निङ संघ बीच भगिनी सम्बन्ध स्थापना गर्दै व्यवसाय, लगानी र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको थियो। अमेरिकन व्यवसायी तथा पदाधिकारीहरूलाई चितवन भ्रमणको लागि औपचारिक निमन्त्रणा पनि दिइएको थियो।

उक्त भेटघाटलाई कोर्निङ संघ ले विशेष महत्त्व दिँदै आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पृष्ठमार्फत समेत सार्वजनिक गरेको छ, जसबाट चितवन–अमेरिका बीचको सम्भावित सहकार्यलाई थप औपचारिकता र अन्तर्राष्ट्रिय चासो प्राप्त भएको छ।

त्यस्तैगरी, टोम्प्किन्स काउन्टी उद्योग वाणिज्य संघ की अध्यक्ष, जो महिला हुनुहुन्छ र महिला बहुल कार्यसमिति रहेको संघमा पनि उस्तै स्वरूपको भेटवार्ता सम्पन्न भयो। अध्यक्षलाई पनि नेपाली ढाकाको टोपी, खादा, पश्मिनाको शल र चितवन भ्रमण पुस्तिका हस्तान्तरण गर्दै चितवन भ्रमणको निमन्त्रणा दिइएको थियो।

टोम्प्किन्स संघ ले चितवन संघसँग भगिनी सम्बन्ध कायम गर्ने गहिरो चासो देखाउँदै चाँडै आफ्ना बोर्ड सदस्यहरूसँग सल्लाह गरी निर्णय दिने प्रतिबद्धता जनाएको छ। आफ्ना सदस्य व्यवसायीहरूको सामग्री चितवनमा प्रदर्शन तथा प्रवर्द्धन गर्ने इच्छा पनि व्यक्त गरिएको छ।

दुवै संघका अध्यक्षहरूले चितवन भ्रमणमा गहिरो उत्सुकता जनाउँदै निकट भविष्यमा प्रतिनिधिमण्डलसहित नेपाल आउने इच्छा व्यक्त गरेका छन्। यो भेटघाट र सहकार्यको थालनीले चितवनका व्यवसायहरूलाई अन्तर्राष्ट्रिय पहुँचतर्फ अघि बढ्न महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया