गैँडाकोट- गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका रूपमा लिँदै १२ करोड ५ लाख रुपैयाँभन्दा बढी विनियोजन गरेको छ। नगरको समुन्नत विकास, सेवा प्रवाहमा सुधार, र नागरिक जीवनस्तर उकास्न विविध कार्यक्रम अगाडि सारिएका छन्।
नगरपालिकाले नगरको फोहोरमैला व्यवस्थापन र प्रशोधनकेन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। यसले नगर सफाइ अभियानलाई दिगो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।नगरको समग्र यातायात प्रणाली सुधार गर्न रिङरोडको निर्माण (वडा नं. १ देखि १७ सम्म) का लागि १ करोड, र मेसा जाली सडक निर्माण (वडा नं. १० देखि १७) मा पनि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
अधुरा वडा कार्यालय भवनहरूको सम्पन्नता र नयाँ भवन निर्माणमा पनि व्यापक बजेट विनियोजन गरिएको छ। वडा नं. १, २, १३ र १६ का निर्माणाधीन कार्यालयहरू पूरा गर्न २ करोड, र वडा नं. ५, ८, १४, १७ र १८ का लागि नयाँ भवन निर्माणका ठेक्का प्रक्रिया अगाडि बढाउन २ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ।नगरमा बसपार्क स्थापना तथा पूर्वाधार व्यवस्थापनका लागि ३० लाख रुपैयाँ, जबकि व्यवस्थित शवदाह गृह निर्माणका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ।
जल–विपद् नियन्त्रणमा समेत नगरले ध्यान दिएको छ। जयश्री र झरही खोलामा तटबन्ध निर्माण गर्न जनही २० लाख, ढोडेनी सिँचाइ योजना सम्पन्न गर्न ४० लाख, तथा भल निकास तथा ढल व्यवस्थापनमा ३० लाख रुपैयाँ लगानी गरिनेछ।सामाजिक–सांस्कृतिक संरचना र सुविधा विस्तारतर्फ पनि नगरपालिका अग्रसर देखिएको छ। फुटसल मैदान व्यवस्थापनमा १५ लाख, जातीय संग्रहालय स्थापना गर्न १५ लाख, र सफल महिला समूह भवनदेखि नारायणी किनार जोड्ने सडक (वडा नं. ७) का लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
कोशेली घर तथा रिफरेसमेन्ट सेन्टर निर्माणमा १० लाख, नगर र अस्पताल क्षेत्रको यातायात व्यवस्थापनमा २० लाख, तथा वडा नं. १२ मा कोठा थप निर्माणका लागि १० लाख विनियोजन गरिएको छ।नगरपालिकाले जल स्रोत संरक्षण तथा वातावरणीय सन्तुलनका लागि पानी पुनःभरण योजना र सिमसार व्यवस्थापनमा ३० लाख रुपैयाँ बजेट छुट्याएको छ।
NAST सँगको सहकार्यमा अनुसन्धान तथा प्रविधि कार्यक्रम सञ्चालनमा ५ लाख, दूध उत्पादन विविधीकरणमा १० लाख, तथा घरेलु मदिरा ब्रान्डिङ र सहजीकरणमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।सामाजिक समावेशिता र सशक्तीकरणतर्फ लक्ष्यित कार्यक्रमहरू पनि बजेटमा समेटिएका छन्। बालमैत्री नगरपालिका कार्यक्रमका लागि २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरण सुदृढीकरणमा ५ लाख, र होमस्टे कार्यक्रम (वडा नं. १८) मा ५ लाख रुपैयाँ छुट्याइएको छ।
नगरप्रमुख मदनभक्त अधिकारीका अनुसार, “यो बजेट समावेशी, सन्तुलित र दीगो विकासका दृष्टिले तयार पारिएको हो। नगरको समृद्धि योजनावद्ध रूपमा अगाडि बढ्नेछ।”उपप्रमुख शान्ति कोइरालाले महिला र कमजोर वर्ग लक्षित कार्यक्रमलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बजेटको कार्यान्वयनमा पारदर्शिता, प्रभावकारिता र जनसहभागितालाई केन्द्रमा राखिने बताउनुभयो । यो बजेटमार्फत गैँडाकोट नगरलाई समुन्नत, सक्षम र जनमैत्री बनाउने दिशामा नयाँ गति दिने अपेक्षा गरिएको छ।



उज्यालो खबर




