गैँडाकोट— अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा “V8-Version: How to Make a School the Best” शीर्षकको विशेष शैक्षिक गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। कलेजको २५औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा विभिन्न विद्यालयका अध्यक्ष, प्राचार्य, उप–प्राचार्य, शिक्षक, शिक्षाविद् तथा शैक्षिक अभियन्ताहरू गरी करिब १०० जनाको सक्रिय सहभागिता रहेको थियो।
गोष्ठीका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले विद्यालय शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी समावेशी दृष्टिकोण, नैतिकता, प्रविधिमैत्री अभ्यास र जीवन्त वातावरणमा आधारित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयलाई “प्रमाणपत्र दिने संस्था होइन, जीवन निर्माण गर्ने प्रेरणादायी थलो”को रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षाको मूल उद्देश्य जीवनोपयोगी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष एवं अक्सफोर्ड कलेजका प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीले गुणस्तरीय शिक्षाको लागि साझा सङ्कल्प, सशक्त नेतृत्व र नवप्रवर्तनशील सोच अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रम सञ्चालन उप–प्राचार्य कृष्णहरि पौडेलले गर्नुभएको थियो।
गोष्ठीमा प्याप्सन चितवनका वरिष्ठ उपाध्यक्ष टेक राज अधिकारीले सैद्धान्तिक स्पष्टता र कार्यान्वयनबीचको सन्तुलनले मात्र शिक्षामा गुणस्तर सम्भव हुने विचार राख्नुभयो। राप्ती प्याप्सनका पूर्व अध्यक्ष रामकृष्ण पन्तले विद्यालय शिक्षामा चरित्र निर्माण, नेतृत्व विकास तथा शिक्षकलाई सम्मानजनक वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी श्री मा. वि. इन्द्रपुरकी प्रधानाध्यापक शान्ति अधिकारीले विद्यार्थी–केन्द्रित शिक्षण र समावेशी वातावरण शिक्षाको मेरुदण्ड भएको बताउनुभयो भने भानु मा. वि. नारायणगढका प्रधानाध्यापक रामजी अधिकारीले निरन्तर सुधार र नवप्रवर्तन नै सफलताको सूत्र भएको धारणा राख्नुभयो।
गोष्ठीमा प्रस्तुत गरिएको “V8-Version” अवधारणामार्फत Vision, Value, Voice, Virtue, Verification, Variation, Velocity, र Vitality जस्ता ८ दृष्टिकोणलाई विद्यालय सुधारको मेरुदण्डका रूपमा व्याख्या गरिएको थियो। कार्यक्रम मन्तव्य, प्रस्तुति, अन्तरक्रिया, अनुभव सञ्जाल, सम्मान तथा समूह फोटो सेसन लगायतका चरणहरूमा विभाजित गरिएको थियो।
कार्यक्रमको अन्त्यमा जलपानसहित आपसी अन्तरक्रिया समेत गरियो। सहभागीहरूले यस्तो विचारमूलक र प्रेरणादायी गोष्ठीले विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि र समग्र सुधारको दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।




उज्यालो खबर




